वीरगञ्ज – जग्गा बेचेर फर्केका स्थानीयको रकमलाई स्रोत नखुलेको पैसाको सूचना दिएर पक्राउ गर्न लगाएको छ। बिचौलिया तथा तस्कर मनिष यादवको समूहले आफुहरुले पनि केही पैसा हाता लिन यस्तो योजना बनाएको तथ्य बाहिरिएको छ ।
प्रहरीले गत वैशाख २६ गते वीरगञ्ज महानगर र विन्ध्यवासिनी गाउँपालिकाबीचको तिलावे पुलबाट मनिषले दिएको सूचनाको आधारमा १२ लाख रुपैयाँ बोक्ने एक जनाको रकम बरामद गरेको थियो । उक्त रकमको स्रोत नखुलेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई जिल्ला अदालतमा मुद्दा चलाएको छ ।
पकाहामैनपुर १ धोरे निवासी मनिषले त्यसपछि पीडितको घरमा पुगी प्रहरीका एसपीलाई भनाएर छुटाइदिने प्रलोभनमा तीन लाख ४० हजार रुपैयाँ लिएको सूचना अहिले प्रहरी कार्यालयमा पुगेको छ । वैशाख २६ गतेदेखि साढे तीन लाख रुपैयाँ बुझ्ने बेलासम्मको घटनामा प्रहरीको जिल्ला क्राइम टिम तथा इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टरसमेतको मिलेमतो रहेको उनै यादवले बताएपछि घटनाक्रमले नयाँ मोड लिएको बताइन्छ ।
जिल्ला प्रहरी एसपी कोमल शाहका अनुसार ठगीमा संलग्न यादव र फारुख मियाँलाई पक्राउ परेर अदालतमा मुद्दा चलाइएको छ । शाहले भने, ‘मनिष भन्ने व्यक्ति खेलोफड्कोमा हिँडेको थप जानकारी पनि आएका छन् । उक्त घटनामा ती दुईको प्रमुख भूमिका देखिन्छ ।’
उनै यादवले दुई महिना अगाडि सशस्त्र प्रहरी बलका डिआइजी हेडक्वार्टरबाट मधेस सरुवा भएको खुशियालीमा १७ किलो मिठाई बाँडेको बताइन्छ । उनले डिआइजी दिपेन्द्र शाहको सरुवापछि तस्करी सहज हुने जनाउँदै मिठाई खुवाएको स्थानीय एक जनाले बताए ।