काठमाडौं – गृह मन्त्रालयले नेपाल एपिएफ अस्पतालमा कार्यरत सशस्त्र प्रहरीको प्राविधिकतर्फका इन्स्पेक्टर डा. समिर केसीलाई स्पष्टीकरण सोधेको छ ।
कसैलाई जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका उनलाई मन्त्रालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सार्वजनिक निर्देशन दिएको हो । चैत १३ गतेदेखि बेपत्ता भएका केसीको घरमा सूचना टाँस गर्दा पनि सम्पर्कमा नआएपछि सेवाबाट हटाउने तयारीका साथ् स्पष्टिकरण मागिएको हो ।
उनलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद–१३ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) अनुसारको कसूरमा सोही नियमावलीको नियम ११० को खण्ड (ख) को (१) बमोजिम सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको पत्रमार्फत अनुरोध भएको गृहले जनाएको छ ।
गृहले उनलाई बाटोको म्यादबोहक सात दिनभित्र सफाइसहित मन्त्रालयमा स्पष्टीकरण पेश गर्न भनेको छ । यसअघि पटक-पटक सूचना जारी गर्दा उनले बेवास्ता गरेको गृहद्धारा आज जारी सूचनामा उल्लेख छ ।
भनिएको छ,‘तपाईंलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) बमोजिमको कसूरमा ऐ. नियमावलीको नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? दिनु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्यादबाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस मन्त्रालयमा स्पष्टीकरण पेश गर्न प्रहरी नियमावली, २०७२ को नियम १२१ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’