डोटी: डोटीको सेती नदीमाथि निर्माणाधीन पुल छिटो सप्पन्न गर्न उच्च अदालत दिपायलले परमादेश जारी गरेको छ। विगत एक दशकदेखि निर्माणाधीन शिखर नगरपालिका-१० र ११ जोड्ने सेती नदी पुलको निर्माण कार्य छिटो सम्पन्न गर्न अदालतले विपक्षीका नाममा परमादेश जारी गरेको हो।
डोटीका मानवअधिकारकर्मी तथा पत्रकार रामहरी ओझाले दर्ता गरेको रिट निवेदनमा यहि जेठ १० गते सुनुवाई गर्दै उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश देशबहादुर सार्कीको संयुक्त इजलासले निर्माण कार्य चाँडो सम्पन्न गर्न उक्त आदेश जारी गरेको थियो।
उक्त पुलको निर्माण गर्ने जिम्मेवारी पाएको पप्पु-राजेन्द्र निर्माण सेवाले विभिन्न बहानामा योजना अलपत्र पारेपछि ओझाले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक डिभिजन कार्यालय कुलपाते डोटी, पप्पु-राजेन्द्र जेभी र शिखर नगरपालिका डोटीविरुद्ध माघ १६ गते रिट दर्ता गरेका थिए।
उच्च अदालत दिपायलले शिखर नगरपालिका सेती नदी पक्की पुल सार्वजनिक सरोकारको विषय भएकाले निर्माण कार्य चाँडो सम्पन्न गर्न भनेको छ।
रिट जारी भएपछि वर्षौंदेखि ठेकेदारहरुले अनेक बहाना बनाएर अलपत्र पारेका विकास निर्माणका योजनाहरुका लागि महत्वपूर्ण नजिर स्थापित भएको छ। ‘यो सुदूरपश्चिमकै पहिलो प्रयास हो। सम्मानित उच्च अदालतको यो आदेशले पुल बन्ने आश पलाएको छ’ ओझाले भने।
सातनाली–मेल्लेक हुँदै बझाङ्ग सडकखण्डलाई केआइसिंह राजमार्गसँग जोड्न शिखर नगरपालिकाको बान्डुंग्रीसैनस्थित उक्त मोटरेबल पुल निर्माण हुन लागेको थियो।
मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख रूपैयाँको लागतमा निर्माण हुने करिब चार सय मिटर लम्बाईको उक्त आरसीसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालयले पप्पु–राजेन्द्र जेभी निर्माण कम्पनीसँग २०७१ असार २९ गते सम्झौता गरेको थियो।
२०७४ असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि निर्माण कम्पनीले विभिन्न बहानामा ५ पटक थपेको सम्झौताको म्याद २०८० असार मसान्तमा सकिदै छ। तर, हालसम्म २२ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको बताइएको छ।
उता पुल निर्माण कम्पनी पप्पु-राजेन्द्र जेभीले पुल निर्माणका क्रममा पिल्लरको फाउन्डेशनमा रक भेटिएको, डिएमसी मेसिनले काम नगरेको र बोर पाइलिङ मेसिन विदेशबाट मगाउदा समय लागेको लगायतका प्राविधिक समस्याका कारण म्याद थप गर्नुपरेको बताइरहेको छ।
उक्त निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका सञ्चालक नेपाली काँग्रेस डडेल्धुराका पार्टी सभापति भिमबहादुर साउँद हुन्।