धनगढी: कैलालीको गेटामा २०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरेर ६ सय बेडको अस्पताल संचालन गर्न माग गरिएको छ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो) सहितले शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री र जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै उक्त माग गरेको हो।
पाण्डेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपाल सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमा गेटामा स्थापना गर्ने भनिएको १०० शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रति घोर विरोध रहेको उल्लेख छ।
‘२०७९ साल माघ २९ को मन्त्रिपरिषद्को निर्णय र सम्माननीय राष्ट्रपति ज्यूले जेठ ५, २०८० का दिन संघीय ससदमा प्रस्तुत आव २०८०/८१ को नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएको हो’ ज्ञापन पत्रमा भनिएको छ ‘तत्पश्चात् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा तयार गरि सकेको कुरा यहाँलाई विदितै छ । तर मेडिकल माफिया र भ्रष्टाचारी नियतका राजनीतिकर्मीहरुको गठजोडले यो कामलाई विफल पार्ने काम भएको छ ।’
ज्ञापन पत्रमा आम सुदूरपश्चिमबासी जनताहरुको चाहना अनुसार २०७९ माघ गते १० को निर्णयलाई यथासिघ्र कार्यन्वयनमा ल्याउन ध्यानाकर्षण गरिएको छ ।
ज्ञापन पत्रमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन सम्वन्धि विधेयक चालु संसदको अधिवेशनमा ल्याउन पनि माग गरिएको छ ।
मागहरु यथासिघ्र सम्बोधन नभएमा संघर्षका कडा कार्यक्रम अन्तर्गत अनिश्चितकालिन सुदूरपश्चिम प्रदेश बन्द गर्ने समेत ज्ञापन पत्रमा चेतावनी दिइएको छ ।