काठमाडौं: वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा सबैभन्दा बढी बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय अन्तर्गत यो कार्यक्रम राखेर बजेट छुट्याएको छ भने प्रदेशमा दिएको सशर्त अनुदानमा पनि यो कार्यक्रम राखिएको छ।
यो कार्यक्रमका लागि भौतिक पूर्वाधार मन्त्रालयमा मात्र ५ अर्ब २० करोड ५७ लाख रुपैयाँ छुट्याइएको छ। मन्त्रालय स्रोतबाट प्राप्त विवरण अनुसार वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम शीर्षक अन्तर्गत ५ अर्बको कूल रकममध्ये तीन वटा जिल्लामा २३२ करोड र बाँकी ७४ जिल्लामा २६८ करोड रकम छुट्याइएको छ ।
सबभन्दा बढी रकम देउवाको गृह जिल्ला डडेल्धुराको सडकहरुमा एक अर्ब १० करोड रुपैयाँ बजेट परेको छ।
वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा डडेल्धुराका ८ वटा आयोजना छनोटमा परेका छन्।
डडेल्धुराको दैजी लिप्ना जोगबुडा सडकका लागि ३० करोड, भत्काडा बडाल रेल सडक डडेलधुराका लागि १५ करोड र जोगबुडा शिर्ष रुप्कलाल सडकका लागि १० करोड रकम छुट्याइएको छ।
यसमा शहरी विकास मन्त्रालय र प्रदेशमा सशर्त अनुदान अन्तर्गत गएका बजेट जोड्न बाँकी छ ।