काठमाडौं – नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । बिहीबार अपरान्ह साढे १२ बजेसम्मको मतगणनाअनुसार सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे लगायत सवै पदमा सत्ता गठबन्धनको अग्रता रहेको छ ।
यस समयसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरेले २२४० मत पाएका छन् भने प्रगतिशील समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई ११६९ मत प्राप्त भएको छ । अध्यक्षका प्रत्यासी घिमिरे अधिकारीभन्दा १ हजार ७१ मतले अगाडि छन् ।
त्यसैगरी सत्ता गठबन्धन समूहबाटै महासचिवको उम्मेदवार बनेकी अन्जिता खनालले प्रगतिशील समूहका केदार कोइरालालाई करिब ६ सय मतले पछि पारेकी छिन् । बृहत लोकतान्त्रिक, प्रगतिशील समूहकी उम्मेदवार खनालले १ हजार ९७५ मत पाउँदा प्रगतिशील समूहका केदारप्रसाद कोइरालाले १ हजार ३४८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्ष पदका प्रत्यासीमध्ये प्रदेश १ बाट सुरज खत्री, मधेश प्रदेशबाट सुशीरकुमार कर्ण, बागमतीबाट हर्कबहादुर रावल, गण्डकीबाट वीरेन्द्र केसी, लुम्बिनीबाट पशुपति भण्डारी, कर्णालीबाट उत्तम प्रसाद आचार्य र सुदूरपश्चिमबाट तुलाराम गिरी अगाडि देखिएका छन् ।