कैलाली: सांसद डिल्लीराज पन्तले प्रतिनिधिसभाको बैठकमा उखान भनेपछि विवाद निम्तिएको छ।
हिजो आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि धारणा राख्ने क्रममा उनले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नियमापत्ति जनाएका हुन्।
सांसद पन्तले देश आर्थिक संकटमा परेको बेला अर्थमन्त्रीले छोटो समयमा बजेट ल्याएको र बजेट पूर्ण नभएकोले ‘अन्धो मामा हुनुभन्दा कानो मामा वेश’ भन्दै आफूले समर्थन गरेको बताए। सांसद पन्तले सो उखान भनेपछि सांसद ढकालले फरक क्षमता भएका व्यक्तिलाई असर पर्ने शब्द संसदमा बोलिएको भन्दै नियमापत्ति जनाए। उनले संसद्को रेकर्डबाट सो उखान हटाउन सभामुखलाई आग्रह गरेपछि सांसद पन्तले क्षमा मागे।
यस्तै उनले गेटा कलेजमाथि राजनीतिक खेलबाड भएको बताएका छन्। सांसद पन्तले धनगढीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने कुरा आएको तर बजेटमा प्रतिष्ठान बनाउने कुरा आएको बताए।
डिल्लीराज पन्त कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।