धनगढी: सुदूरपश्चिमकै चर्चित र महत्त्वपूर्ण पर्यटकीयस्थल खप्तडलाई भारतीयको हातमा सुम्पिन लागिएको चर्चा सुरु भएको छ। अस्ति मंगलबार खप्तडमा भारतीय ‘बाबाहरु’लाई हेलिकप्टरमै बोलाएर सरकारले नै तामझामका साथ अन्तरास्ट्रिय सम्मेलन गरेपछि यस्तो चर्चा सुरु भएको हो। यद्यपि सरकार र आयोजकले भने त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि उक्त अन्तर्राष्ट्रिय ३ दिने आध्यात्मिक सम्मेलन गरिएको जनाएको छ।
सो सम्मेलनमा नेपालका प्रधानमन्त्री स्वयं उपस्थित थिए। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नै अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए।
सम्मेलनमा भारतीय योगगुरुका नामले चिनिने रामदेवलाई र अर्का आचार्य बालकृष्णलाई डाकिएको थियो। उनीहरु दलबलसहित नेपाल छिरेका थिए।
तर रोचक कुरा त के भने उनीहरु खप्तडको प्रचार गर्न नभइ खप्तडमा पाइने वनस्पति तथा जडिबुटीको खोज अनुसन्धान, अध्ययन गर्ने मुडका साथ आएको खुलेको छ। बालकृष्णले नै धनगढीमै पत्रकारसामु आफूले खप्तडमा जडिबुटीका लागि टोली नै पठाएको बताएका थिए।
तर आयोजक पक्ष भने यो कुरा स्वीकार गर्ने पक्षमा छैन। यस्तै बाबा रामदेवले आफू त्यहाँ जानुअघि २१ जेठ अर्थात् आइतबार ३२ जना जडिबुटी विज्ञ र वैज्ञानिकको टोली पठाएका थिए। किनकी उनको नजर खप्तडको जडिबुटी र वनस्पतिमा थियो।
खप्तडको सो सम्मेलन गएका एक आन्तरिक पर्यटकले नै खप्तडको सो कार्यक्रम अव्यवस्थित र भारतलाई सो क्षेत्र सुम्पिनकै लागि गरेको खेलखण्डा भएको बताए। उनले त्यहाँ भारतीयलाई ल्याएर खप्तड सुम्पिन थालिएको जनाए।
उनले भनेजस्तै रामदेवका मान्छेले उपकरणका साथ खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न खोजेको बताइएको छ।
निकुञ्जका रेन्जर ज्ञानेन्द्र शाहले पनि रामदेव र आचार्यको सो टोलीले प्रवेश मागे पनि नेपाल सरकारले दिएको स्वीकृति नभेटिएपछि रोकिएको बताए।
यता आयोजक खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले भने सम्मेलनमा बाबा रामदेव र आचार्य बालकृष्णलाई मात्रै बोलाइएको जनाएको छ। आफूले पठाएको टोलीलाई नेपाली सेना र निकुञ्ज प्रशासनले खप्तडमा प्रवेश गर्न नदिएपछि बाबा रामदेव र आचार्य असन्तुष्ट बनेको बताइएको छ।