धनगढी: काठमाण्डौ उपत्यकाका एआइजी श्यामलाल ज्ञवाली ३ मोबाइल बोकेर दुबई उडेको बताइएको छ। उनी आफ्नो निजी नम्बरको मोबाइल र सरकारी कागजात किर्तेमा २५ दिन थुनिएर धरौटीमा अदालतबाट छुटेका एक जना यातायात क्षेत्रका मान्छे ‘पत्रकार’ को दुई वटा मोबाइल समातेर दुबई उडेको आरोप लागेको हो।
ती यातायात क्षेत्रका मान्छे मदनबाबु भण्डारीको पृष्ठभूमि पत्रकारिता होईन। तर पनि उनलाई प्रहरी वृत्तमा प्रहरीका हाकिमनिकट पत्रकार भनी चिन्ने गरिन्छ। उनै भण्डारीको दुई वटा मोबाइल एआइजीले गत हप्ता दुबई लगेको आरोप लागेको हो।
प्रहरी स्रोतका अनुसार किर्ते मुद्दामा समातिएका मदनलाई विमानस्थलबाट पक्राउ गरेर सरकारी थुनिएको थियो। त्यसबखत उनको ल्यापटप र मोबाइल जफत गरी परीक्षणको लागि फरेन्सिक ल्याबमा पठाइएको थियो। उनीविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा अहिले पनि विचाराधीन छ ।
अदालतले उनलाई धरौटीमा छाडेपछि उनी हिरासतबाट छुटेका थिए। त्यसपछि प्रहरीले आफ्ना सामान फिर्ता नगरेको भन्दै भण्डारीले काठमाडौं जिल्ला अदालतमा प्रहरीविरुद्ध मुद्दा हालेका छन्। अदालतले रिहा भएका भण्डारीलाई सामान बुझाउन आदेश दियो। तर शुक्रबारको उक्त आदेश प्रहरी हेडक्वार्टरमा बुझाइए पनि मोबाईल नपाएको भण्डारीको दाबी छ।
उनी भन्छन्, ‘आईफोन १२ र प्रोम्याक्स १४ मेरा फोन हुन्। प्रहरीले छोरीले बोक्ने आइप्याड र ल्यापटपसमेत लगेको छ,जसमध्ये दुइटा फोन एआइजीले दुबई लिएर जानुभएको छ।’