धनगढी: सुदूरपश्चिममा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटप्रति सत्तारुढ दलकै नेताहरू रुष्ट भएका छन्।
सरकारमा सहभागी माओवादी केन्द्रभित्र सबैभन्दा धेरै बजेटप्रति असन्तुष्टि छ। माओवादी प्रदेश उपाध्यक्ष मानसिंह मालले हुबहु बजेट पारित गर्न नदिने चेतावनी समेत दिएका छन्।
उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘संघीयतालाई स्वयंबाट कमजोर पार्ने प्रयास गरिनु दुखद, सन्दर्भ बजेट।’ उनले बजेट हुबहु पारित हुन नसक्ने बताएका छन्।
यस्तै माओवादीबाट सांसद बनेका ओम बिक्रम भाट ‘ सरल’ले पनि बजेटप्रति असन्तुष्टी जनाएका छन्। उनले संघीयता विरोधी बजेटलाई यथास्थितिमा समर्थन गर्न नसकिने बताएका हुन्।’ यदि बजेट पुनर्लेखन हुँदैन र संघीयताको औचित्य पुष्टि हुनेगरि नयाँ कार्यक्रमहरु तय हुँदैनन् भने माओवादीले सुदूरपश्चिम प्रदेश सरकारमा बस्नुको औचित्य समाप्त भएको छ’ उनले भनेका छन्।
माओवादी मात्रै हैन कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले पनि सरकारले सन्तोषजनक बजेट नल्याएको आरोप लगाएका छन्। उनले भने, ‘कांग्रेसका सांसदहरूलाई पनि चित्त बुझेको छैन। दलको बैठकमा छलफल हुन्छ र त्यही अनुसार हामी अघि बढ्छौँ।’
यस्तै नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका अर्थमन्त्री नरेश बहादुर शाहीले प्रस्तुत गरेको बजेटप्रति उनकै दलका नेताले पनि चित्त दुखाएका छन्।
नेकपा एसका नेता दीर्घ सोडारी भन्छन्, ‘कर्मचारीले भनेको मानेको जस्तो देखिन्छ। मान्छे निराश छन् । बजेट केहि मिलाउनु पर्छ।’ सोडारीले आफूले मुख्यमन्त्री र अर्थमन्त्रीलाई दिएको सुझाव कार्यान्वयन नगरेको गुनासो गरे।
सरकारले असार १ गते २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको थियो।