धनगढी: सुदूरपश्चिमका मजदुर आन्दोलित भएका छन् । भारतबाट अवैध कुखुरा भित्र्याउने तस्करले चालकलाई फसाएको भन्दै सुदूरपश्चिमका मजदुर आन्दोलित भएका हुन् ।
कैलालीको बुढितोलाबाट गत जेठ २१ गते सु.प.प्र ०२०१ च ८६८ नम्बरको गाडीमा कुखुरा लगेर बझाङ गइरहेका चालक देवेन्द्र रोका क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । मजदुर संघगठनहरुले कुखुराका व्यापारीलाई छुट दिई चालकलाई फसाइएको बताएका छन् ।
गाडीधनी बैतडीको सुर्नया गाउँपालिका६ का सुवास चन्दले गाडी चालकलाई फसाएको उनीहरुको गुनासो छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले जिपमा भएका कुखुरा अवैध हुन् भन्ने चालकलाई थाहा नभएको बताए ।
गाडीधनी चन्द पक्राउ पनि नपरेका तर चालक देवेन्द्रलाई भन्सारले ४ लाख ८८ हजार ४ सय रुपैयाँ जरिवाना तिर्न भनेको छ । तर, चन्दले उक्त रकम दिनसमेत नमानेको मजदुरहरुले बताएका छन् । मजदुरका संगठनहरुले मंगलवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दबाबका कार्यक्रम गर्ने बताएका छन् ।