आरएस भट्ट, काठमाडौं: सोमबार ४ राजनीतिक दलहरुले समाजवादी मोर्चा घोषणा गरे। जसमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा (विप्लप) ले संयुक्त सुरुपमा समाजवादी मार्चा घोषणा गरेका छन्।
पछिल्लो सयमा ठुला राजनीतिक दलहरु युवा पुस्ता र आम नागरिकको नजरमा कमजोर बन्दै गएका छन्। पछिल्लो समयमा सम्पन्न भएका निर्वाचनले पनि यी दलहरुको भविष्य खासै राम्रो देखिएको छैन।
अस्तित्व नै गुम्ने डरमा रहेका दलहरु पनि एकिकृत हुन थालेका छन्। विशेष गरी नागरिकको तहमा कमजोर बन्दै गएका दलहरु मोर्चाको माध्यकबाट आफुलाई बलियो सावित गर्ने दाउमा छन। राजनीति अस्तित्व जोगाउनका लागि समाजवादी मोर्चाको सहारा लिएका दलको आगामी यात्रा कस्तो होला त्यो अनुमान पनि गर्न सकिन्न।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादी पहिलो दल बनेको थियो। १० वर्षे द्धन्द्धबाट भर्खरै बाहिर आएको दलले उक्त चुनावमा उत्कृष्ट नतिजा हासिल गरेको थियो। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको उक्त दलमाथि आम नागरिकले पनि ठूलै अपेक्षा गरेका थिए। तर आम नागरिकको अपेक्षालाई माओवादीले १० प्रतिशत पनि पुरा गर्न सकेन।
त्यो समयमा न त संविधान नै जारी भयो, न त विकास निर्माण, सुशासन, भ्रष्टाचार लगायतका बेथितीहरु कम भए। त्यसपछि माओवादी केन्द्र विस्तार कमजोर हुँदै गयो। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा माओवादी तेस्रो दल बन्यो। त्यसपछि भएका निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने हिम्मत राख्न सकेको छैन।
२०७४ सालमा पहिलो पटक भएको प्रतिनिधि सभा निर्वाचनमा माओवादीले एमालेको सहारा लिएको थियो। एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको थियो। त्यो समयमा अपेक्षा अनुसार नै नतिजा ल्याएपनि गठबन्धन भने लामो समय टिक्न सकेन। २०७९ मा भएको आम निर्वाचनमा माओवादीलाई काँग्रेस लगायतका ५ दलको साथ थियो। तर पनि अपेक्षाअनुसार मत ल्याउन सकेन। २ सय ७५ सिट भएको प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३२ सिटमा माओवादी सिमित भएको थियो।
यसबीचमा केही नयाँ दलहरु निकै उत्साहका साथ उदाएका छन्। यसले पनि माओवादी केन्द्रलाई झस्काएको छ। सोही कारण प्रचण्डलाई मोर्चाको बैसाखी टेक्नु पर्ने अवस्था आएको हो।
नेकपा एकिकृत समाजवादी पार्टीको आफ्नै भविष्य छैन। पछिल्लो समयमा उदायकको यो पार्टीका नेताहरु नयाँ पृष्टभूमिबाट आएका होइनन्। विगतमा एमालेमा रहेका केही नेताहरु अहिले नेकपा एसमा रहेका छन्।
एमालेमै रहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुरा नमिल्दा माधव नेपाल र झलनाथ खनाल अलग भएका थिए। खास गरी ‘घर झगडा’ मिलाउन नसक्दा यी नेताहरुले नयाँ दल खोलेका हुन्। तर, जुन आक्रोसका साथ नेकपा एस निर्माण भएको थियो, त्यस अनुसार जनताले विश्वास गरेनन्।
सोही कारण अहिले यो पार्टीको अवस्था नाजुक बन्दै गएको छ। आम निर्वाचन २०७९ लाई मात्र आकलन गर्दा पनि नेकपा एसको चित्र प्रष्ट रुपमा देखिन्छ। प्रत्यक्षमा १० सिट बाहेक समानुपातिकमा थ्रेसहोल्डमा पनि कटाउन सकेन। त्यो पनि नेकपा एसलाई आम निर्वाचनका समयमा पाँच दलको समर्थन रहेको थियो। यस्तो अवस्थामा पनि कमजोर सावित भएको पार्टीलाई मोर्चाको आवश्यकता परेको हो भन्दा फरक नपर्ला।
मधेश केन्द्रित राजनीति गर्ने दलमा पर्छ, जनता समाजवादी पार्टी। उपेन्द्र यादवको नेतृत्वमा रहेको यो दललाई मधेशमै चुनौती छ। हालसालै उदाएको जनमत पार्टीले जसपालाई टक्कर दिँदै आएको छ। जनमतका अध्यक्ष सिके राउतसँग जसपाका अध्यक्ष यादव आम निर्वाचनमा नै पराजित भएका थिए।
यद्यपि यादव वैशाख–१० को उपनिर्वाचनमा भने बारा–२ बाट निर्वाचित भएका छन्। तर जसपालाई मधेशमा राजनीति गर्न अव विगतका जस्तो सजिलो छैन। जनताले रुचाएका नयाँ नेताहरुको उदयपछि पुराना दललाई संकट पर्ने निश्चित छ। त्यसकारण पनि पुराना दलहरु आफ्नो अस्तित्व कामय राख्नका लागि विभिन्न सहाराको खोजीमा छन्।
नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेकपा लामो समय भूमिगत भएको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यो पार्टीलाई खेला राजनीतिमा ल्याउन भूमिका खेला थिए। विद्रोही स्वभावको यो दलका क्रियाकलाप पनि विगतमा पनि स्वभनिय थिएनन्।
हालसम्म निर्वाचनमा भाग नलिएको यो पार्टी पनि आगामी दिनमा चुनावी प्रतिस्पर्धा गर्ने योजनामा छ। तर, अहिलेको नागरिकको विश्वास र पार्टीको संगठनका कारण विप्लप नेतृत्वको नेकपा पनि निकै कमजोर छ।
आफ्ना कमजोरी ढाकछोप गर्नका लागि यी दलहरुले मोर्चा बनाएको टिप्पणी राजनीतिक विश्लेषकहरुको छ। माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा (विप्लप)ले निर्माण गरेको मोर्चा धेरै नटिक्ने भनाई विश्लेषकहरुको छ। अन्य दललाई तर्साउनका लागि बनेको मोर्चाले राजनीतिक स्वार्थ बाहेक मुलुकको हितमा काम गर्न नसक्ने धारणा धेरैको छ।