धनगढी: बझाङ दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको दाहसंस्कार शनिवार गरिने भएको छ । मन्त्री सिंहसहित उनकी पत्नी र भाउजूको शनिवार दाहसंस्कार गरिने भएको हो ।
मन्त्री सिंहका एक छोरा अमेरिकामा रहेका र उनी शुक्रवारसम्म नेपाल आइपुग्ने हुँदा शनिवार दाहसंस्कार गरिने बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनका अनुसार शनिवारसम्म उनीहरूको शव जिल्ला अस्पतालमा राखिनेछ ।
मन्त्री सवार सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी मंगलवार दिउँसो १ बजेर ४३ मिनेटमा केदास्युँ गाउँपालिका–१ को झारछडा भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा मंगलवार साँझ कोहलपुर मेडिकल कलेजमा निधन भएको थियो ।
दुर्घटनामा उनकी धर्मपत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो भने सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र गाडी चालक धर्मराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।