धनगढी: नक्कली डाक्टर बनेर ठगी गर्ने कञ्चनपुर परासन– ७ का २७ वर्षीय मातृकाप्रसाद जैसीले आफ्ना पूर्व प्रेमिकाहरुको हत्या गरेको समेत खुलेको छ।
यसअघि उनले बिहे गर्छु भन्दै २ युवतीको पैसा खाएको खुलासा भएको थियो।
आफूलाई डाक्टर हुँ भन्दै युवतीसँग ७८ लाख बढी ठगी गर्ने उनी अहिले प्रहरीको खोरमा पुगेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ घर भई हाल भक्तपुर कौशलटार बस्ने बस्दै आएका जैसीले नक्कली डाक्टर बनेर युवतीसँग बिहे गर्ने बहानमा ७८ लाख ठगी गरेको प्रहरीले जनाएको छ। जैसीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो।
जैसीले आफू १२औं तहको डाक्टर हुँ भने पनि उनी डाक्टर नभएको खुलेको थियो। एक युवतीलाई बिहे गर्ने भनेर उनले पटकपटक गरेर ४० लाख रुपैयाँ मागेका थिए।
त्यसपछि अर्की युवतीलाई पनि बिहे गर्छु भन्दै डाक्टर ३८ लाख ठगी गरेको खुलेको छ। नक्कली डाक्टर भएको खुलेपछि युवतीले पैसा फिर्ता माग्दा रकम नदिई जैशी फरार रहेका थिए।
करिब १८ महिनाको अवधिमा उनले ती युवतीलाई प्रेमजालमा पारेर सो रकम ठगी गरेका थिए। उनले एप्रोन लगाएर भिडियो कल गर्ने गर्ने र आफू बिर अस्पतालमा ड्युटीमा छु भनेर ठग्ने गरेको प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी सिताराम रिजालले बताए।
जैशीले युवतीसँग मागेको रकमले बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडी किनेको समेत अनुसन्धानबाट खुलेको थियो।
अहिले जैसीको बारेमा बारेमा थप नयाँ तथ्य खुलेको छ। जैसीले नेपाली सेनामा कार्यरत प्रमुख सेनानी (कर्नेल)की श्रीमतीलाई पनि त्यसै गरी ठगेका थिए । उनले कर्नेलकी श्रीमतीसँग एक करोड २५ लाख रुपैयाँ लिएका थिए । उनीसँग जग्गाको कारोबार गर्ने भन्दै रकम असुल गरेका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए ।
उनको असली नाम मातृकाप्रसाद नभएर पुण्यप्रसाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जैसी धनगढीमा आइएस्सी अध्ययन गर्दै थिए। त्यही क्रममा उनले दुई युवतीलाई प्रेमजालमा पारेका थिए। दुवैलाई बिहे गर्ने प्रलोभन दिएका थिए । तर, पछि उनको पोल खुल्यो ।
त्यसपछि उनले दुवैलाई सिध्याउने योजना बनाए। उनले दुवै युवतीसँग फरक–फरक ठाउँमा भेट गरे र एकैपटक आत्महत्या गर्ने भन्दै दुवैलाई राजी बनाए।
त्यसपछि उनले दुवैलाई धनगढीको शिवपुरी जंगलमा बोलाए। त्यहाँ उनले ३ गिलासमा पानी भरे। युवतीहरूले थाहा नपाउने गरी दुईवटामा विष हाले। विष भएको गिलास युवतीलाई दिए र विष नभएको आफैँले पिए।
विष भएको पानी पिएका दुवै युवतीको मृत्यु भयो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेपछि जैसी पक्राउ परे । २४ २०७० मा जिल्ला अदालत कैलालीले उनलाई ६ वर्ष कैद सजायको फैसला गरेको थियो। त्यसबेला उनको नाम पुण्यप्रसाद जैसी थियो। तर, जेलबाट निस्किएपछि उनले आफ्नो नाम मातृकाप्रसाद राखे।
परिचय बदल्न उनले नागरिकतासमेत दुईवटा बनाएको प्रहरीले आशंका गरेको छ। अहिले उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।