काठमाडौं: सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईमा पक्राउ परेका छन् । त्यहाँ एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार पक्राउ गरेर नेपाल ल्याएको हो ।
शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । उक्त हिनामिनाको मुख्य नाइके शर्मा भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा उनीविरुद्ध अनुसन्धान जारी छ ।
बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।
उनलाई मंगलबार अदालतमा उपस्थित गराइने सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले बताए।