काठमाडौं: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र तुलसी सहकारी संस्थाको १२ अर्ब २३ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका केदारनाथ शर्माले ४३ वटा कम्पनीमा लगानी गरेको पाइएको छ।
उनले शिवशिखरको १० अर्ब ७७ करोड र तुलसी सहकारीको १ अर्ब २४ करोड रुपैयाँ निक्षेपलाई अपचलन गरेको पाइएको हो।
भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका उनले निक्षेपकर्ताको रकम अपचलन गरेर ८ अर्ब रुपैयाँ नेपालबाहिर लगेको समेत पाइएको छ।
उनले भारतमा मात्रै ६ अर्ब लगेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले जानकारी दिएको छ। सीआइबीले शर्मालाई पक्राउ गरेपछि उनको शिवशिखर अर्गनाइजेसन भारत भन्ने संस्था रहेको समेत खुलेको हो।
बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र अन्य सञ्चालकविरुद्ध सहकारी विभाग र सीआईबीमा उजुरी दिएका थिए।