धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा चित्त नबुझेको भन्दै नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित ६ सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन्। बजेट पारित गर्न नदिने भन्दै मेघराज खड्का,प्रकाश बम, बहादुर सिंह थापा, मानबहादुर रावल, दिवानसिंह विष्ट र शिवराज भट्ट हिजो देउवा निवास पुगेका हुन्।
उनीहरूले देउवालाई बजेट सबैभन्दा खराब आएको र त्यसलाई पारित गर्न आफुहरुलाई दबाब नदिन आग्रह गरेका थिए।
उनीहरुको गुनासो सुनेपछि देउवाले बजेट उपयुक्त नरहेको र पूरक बजेट ल्याउन निर्देशन दिने आश्वासन दिएका थिए। त्यसपछि ६ जना खुसी भएर फर्किएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री छन्। काङ्ग्रेसकै प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन्। तर, काङ्ग्रेसकै अधिकांश सांसदहरू सरकारले ल्याएको बजेट यथास्थितिमा पारित गर्न नदिने अडानमा छन्।