धनगढीः क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी घोषित भएका छन्।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा दुबै जनाले उक्त अवार्ड हात पारेका हुन।
दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन्।
यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गतवर्ष नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पीयनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्।
यस्तै सुदूरपश्चिम वर्षको अवार्ड युवा खेलाडी क्रिकेटका हेमन्त धामीले जिते। धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे।
हेमन्तले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराउन उत्कृष्ट प्रदर्शन गरेका थिए। यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले हात पारे।
टमटाले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराएका थिए। उनी ८ बर्षपछि नेपाललाई यु १९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन्।