नयाँ दिल्ली: भारतको महाराष्ट्रमा गएराति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा ठूलो आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए । जसमध्ये २५ जनाको आगलागीका कारण घटनास्थलमा नै मृत्यु भएको थियो । सोही क्रममा अन्य व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ ।
बुलढाना प्रहरीका डिएसपी बाबुराव महामुनीले यसबारे जानकारी दिएका छन् । घटना शुक्रबार राति करिब २ बजे भएको उनले बताए । बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । छ देखि आठ जना घाइते भएका छन् । घाइतेहरुको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा बस ठोक्किएको बताएका छन्। त्यसपछि चालकले सन्तुलन गुमाए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो । यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।