कैलाली: कैलालीमा गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादमा वडाध्ययक्ष कुटेको आरोपमा ४ जना पक्राउ परेका छन्।
केन्द्र सारिएको विरोधमा भइरहेको आन्दोलनमा वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतलाई कुटेको आरोपमा ४ जना पक्राउ परेका हुन्।
आफूमाथि कुटपिट गरेको भन्दै वडा नम्बर ७ का वडाध्यक्ष नवराज कठायतले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताए।
उनले ज्यान मार्ने उद्योगमा वडाध्यक्षले दिएको किटानी जाहेरीका आधारमा चार जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका मध्ये दुई जनाको नाम किटानी जाहेरीमा उल्लेख छ भने अन्य दुई जनालाई सोधपुछका लागि पक्राउ गरिएको हो।
तर पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। किटानी जाहेरीमा विपक्षी बनाइएका अन्य व्यक्तिहरुको खोजी भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए।
गाउँपालिकाले रातारात गाउँसभाको बैठक राखेर पालिकाको केन्द्र तोक्ने निर्णय गरेपछि स्थानीय आक्रोशित भएका थिए। उक्त हानाहनमा केही व्यक्ति घाइते भएका थिए।
गाउँसभाले केन्द्र सार्ने निर्णय गरेकै दिन सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले उद्घाटन गरेको गाउँपालिकाको प्रिफ्याब भवनमा ढुंगामुढा प्रहार भएको थियो। ढुंगामुढाबाट झ्यालका सीसा फुट्नुका साथै कुर्सी भाँचिएका छन्।
हाल खिमडीमा रहेको गाउँपालिका केन्द्र सार्ने निर्णय भएपछि कतिपय जनप्रतिनिधि र स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका छन्।
गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले केन्द्रको विषयलाई भएको विवाद अझै समाधान हुन नसकेको बताए।