दार्चुला: दार्चुलाका स्थानीय व्यवसायीको डेलिगेशन फेरि काठमाडौँ पुगेको छ । नेपाल र चीन जोड्ने टिंकर नाका खोल्न माग गर्दै व्यास क्षेत्रका आधा दर्जन व्यवसायी दोस्रोपटक राजधानी पुगेका हुन् । चार दशकभन्दा बढी समयदेखि व्यापार गर्दै आएका दीपकसिंह बोहराको नेतृत्वमा ७ जनाको टोली काठमाडौँ आइपुगेको हो ।
दुई महिनाअघि व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी नेतृत्वको टोलीले प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्र सचिव, वाणिज्य सचिवसहित राजनीतिक र प्रशासनिक नेतृत्वसँग भेटघाट गरी नाका खोल्न माग गरेको थियो । दुई महिनासम्म पनि कुनै सुरसार नभएपछि उनीहरु फेरि काठमाडौँ आउन बाध्य भएका हुन् ।
सोमबार मात्रै नेता दिलेन्द्रप्रसाद बडूसहित व्यवसायीहरूको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरेको छ । चीन भ्रमणमा रहेका गृहमन्त्रीसँग फोनबाटै भए पनि तत्काल नाका खुलाउन अनुरोध गरिएको पनि बताइएको छ ।
आफूहरूको मुख्य पेशा व्यापार व्यवसाय भएकाले जीविकोपार्जनमा समेत समस्या भइरहेको व्यवसायी विमलकुमार बोहराले बताए । व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले तिब्बत सरकारअन्तर्गत आली प्रिफेक्चरमा रहेको वैदेशिक मामिला कार्यालयलाई समेत नाका खुलाउन अनुरोध पत्र पठाएको बताए ।
परम्परागत रुपमा दशकौँदेखि टिंकर नाका भएर दार्चुलाका स्थानीय व्यापारीले ताक्लाकोट सहरमा व्यापार व्यवसाय गर्दै आएका थिए । कोभिड महामारीले अन्तर्राष्ट्रिय नाका बन्द भएपछि ४ वर्षदेखि टिंकर नाका ठप्प छ ।