धनगढीः गेटामा सय शय्याको अस्पताल सञ्चालनका लागि १४१ जना जनशक्तिको दरबन्दी स्वीकृत गर्न माग गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मन्त्रिपरिषद्मा १४१ जना जनशक्तिको दरबन्दी माग गर्दै स्वीकृतका लागि फाइल पठाएको हो।
अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बिहिवार मन्त्रिपरिषद्मा फाइल गएको बताए। जोशीका अनुसार प्राविधिक तथा प्रशासन एवं सफाइ कर्मचारीहरु अस्पताल सञ्चालनका लागि आवश्यक हुनेछन्।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पुगेको बताए। स्वास्थ्य मन्त्रालयको प्रस्ताव संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरे गेटामा अस्पताल सञ्चालन हुनेछ।
संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पताल सञ्चालनका लागि प्रस्ताव गरेको हो।
यता, गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु अधिवेशनबाटै पारित हुनुपर्ने र ६ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने माग राख्दै एक महिनादेखि आन्दोलन भइरहेको छ। बिहीवार पनि संघर्ष समितिले गेटामा हवन गरेको छ।