दार्चुला – दार्चुला जिल्लाको सदरमुकाम खलंगा तथा महाकाली नगरपालिकाको नगरपालिका केन्द्र समेत रहेको बजार क्षेत्रभित्र सजावट गर्ने कार्यक्रम तय भयो । आर्थिक वर्ष २०७५/७६ मा महाकाली नगरपालिकाले तटबन्धमाथि अशोक जातको बिरुवा र खलंगा बजार क्षेत्रमा गमला राखेको थियो । नगरपालिकाले दुबै कार्यक्रमका लागि ५ लाख बजेट खर्च पनि गरेको थियो । सडक पेटी छेउछाउमा फूल रोप्ने भनेर गमलाको मूल्याकंन समेत गरियो । मूल्याकंनमा गमला तथा गमला स्टेन्ड ३० केजीसम्मको रहने भनेर निर्णय पनि गरियो ।तर उक्त कार्यक्रम लागु गर्न नगरपालिका सक्रिय रह्यो । जनप्रतिनिधि तथा कर्मचारीहरुले लापरवाहि गर्ने कामको समेत सुरुवात हुन थाल्यो । एक स्थानीयका अनुुसार नगर प्रमुख आफ्नो मान्छेलाई उक्त कार्यको जिम्मेवारी दिन कटिबद्ध भएर जुटे ।
प्राविधिक मूल्यांकनमा गमला तथा स्टेन्ड ३० केजीको राख्ने भनिएतापनि गमला ७ केजीको निर्माण हुन थाल्यो । यसबाट प्रष्ट हुन्छ कि कतिसम्म कमिसनको खेल हुने रहेछ् भनेर । ७ केजीको गमला स्टेन्ड निर्माण गरि फूलहरु रोप्ने र ३० केजीको मूल्याकंनका आधारमा भुक्तानी गरि कमिसन बाँडफाँड गर्ने योजना सफल हुन सकेन ।
यस विषयमा स्थानीयहरु एकजुट भएर उक्त कार्यको विरोध गर्न थाले । स्थानीयको बिरोधले समेत नरोकिने भएपछि सोहि बिषयलाई लिएर अदालतमा मुद्दा समेत प¥यो । त्यसपछि स्थानीयले मूल्याकंनको आधारमा तोकिएको ढाँचा अनि तौलमा गमला राखि बजार सजावट गर्न अनुरोध गरेपछि अहिले उक्त शिर्षकको बजेट नै हटाएर अन्य क्षेत्रमा लगाएको स्थानीयको आरोप छ । बजार व्यवस्थापनमा समेत चुकेको नगरपालिका सजावट गर्ने भनेर गमला राख्ने कार्यक्रमबाट पछि हटेको छ ।
यी यस्ता गतिबिधिले पछिल्लो समय दार्चुलाको महाकाली नगरपालिका विवादमा मुछिदै आएको छ । यस्तै महाकाली नगरपालिकाले महाकाली तटबन्ध वरिपरि गरेको बृक्षारोपण कार्यक्रमको प्रतिफल समेत शून्य भएपछि स्थानीय आक्रोशित बन्न पुगेको छन् । लाखौँ रुपैयाँ खर्च गरेर गरेको बृक्षारोपण पश्चात बोटहरु नै नभएपछि स्थानीयले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । एकातिर नगरपालिकाले सडक मिचेर बनाइएको संरचनाहरु तोड्ने कार्य अगाडी बढाएको थियो भने अर्काेतिर सडक विस्तार नगरी राखिएका गमलाको अर्थ नहुने भन्दै आलोचना भएको थियो । नगरपालिकाले बजार क्षेत्रमा थुप्रै घरहरु सडक क्षेत्रलाई अतिक्रमण गरेर निर्माण गरिएकाले उक्त भवनहरु भत्काउन रेखांकन समेत गरेको थियो । भत्काउन रेखांकन गरी भत्काउने तयारी गरिएका बेला गमला राखिँदा सडक विस्तार भएपछि गमला हटाउनु पर्ने अवस्था आएकाले भएकाले दोहोरो खर्च हुने देखिएको थियो । तर नगरपालिकाको बजार क्षेत्रमा सडक विस्तार गर्ने (सडक अतिक्रम गरी निर्माण गरिएका भवन भत्काउने) योजना पनि कार्यान्वयन हुन सकेन ।
बजार क्षेत्रमा साँघुरो सडक हुदाँ एम्बुलेन्स समेत आवागमन गर्न सक्ने अवस्था नरहेकाले सडक विस्तार गर्न रेखांकन गरेको थियो तर रेखांकन गरेको क्षेत्रमा रङ मेटिन थालेपनि कार्य अगाडी बढ्न सकेको छैन ।
उक्त कार्य अगाडी बढेको भए गमला पुनः हटाउनु पर्ने अवस्था रहेको थियो तर कार्यान्वयन हुन नसक्दा कुनै समस्या आएको थिएन । तर दुई वर्ष अगाडी राखिएका गमलाको मुद्दा अहिले अख्तियारमा परेको छ । स्रोतका अनुसार प्लाष्टिकका गमलाको बिलहरु बजार मूल्य भन्दा निकै बढी मूल्यको पेश गरिएका छन् भने गमलाको स्ट्याण्डको गुणस्तर पनि उल्लेख भन्दा कम रहेको जनाइएको छ ।
अख्तियारको चासो संगै गमला गायब
महाकाली नगरपालिकाको बजार सुन्दर बनाउने योजनामाथि अख्तियारको चाँसो बढेसंगै बजार क्षेत्रका गमला हटाइएको छ । तर नगरपालिकाका योजना शखा अधिकृत युवराज जोशीले यो वजेट वडा नम्बर ४ को भएको बताउनु भयो ।
‘गमलाहरु हटाइएका होइनन्, थप व्यवस्थित गर्न निकालिएको हो, व्यवस्थित गरेर राख्छौँ’ भनेको थियो यो विषयमा म खासै जानकार छैन त्यतिबेला म नगरपालिकामा पनि आएको थिएन उहाँले भन्नु भयो ।
सुरुमा गमला राख्ने क्रममा प्लाष्टिकको गमला राखिएकाले अब कंक्रिट (सिमेन्ट) का गमला राख्न गमला हटाइएको हो । अहिले गमला मात्रै नभई गमला राख्ने स्ट्याण्ड समेत हराएका छन । गमलाको गुणस्तर न्युन रहेको भन्ने हाम्रो जिज्ञाशामा उहाँले त्यो विषय अख्तियारले हेर्ने बताउनु भयो । ‘हामीले गएर तौललिने कुरो भएन, त्यो हेर्नेले पनि गल्ती राम्रोसंग हेर्नुपथ्र्याे त्यो भएन, बाँकी अख्तियारले हेर्ला’ उहाँले भन्नु भयो । तीन लाख भन्दा केही बढी बजेटको उक्त योजनाको बारेमा अख्तियारमा मुद्दा परेकाले समितिलाई भन्ने मौका समेत पाएकोे उहाँको भनाई छ । उक्त विषयमा आफूलाई भने पुर्ण जानकारी नभएको नगरपालिकाका योजना अधिकृत जोशीले बताए । नगरपालिकाको सुन्दर नगरी बनाउने योजना अनुसार गमला राखे पनि संरक्षणको अभाव खड्किएको छ ।
कतिप गमलाहरु फुटिसकेका थिए भने कतिपय गमलाहरु नै चोरिएकाले रित्तै स्ट्याण्ड मात्रै रहेका थिए । बाँकी रहेको गमला र स्ट्याण्डहरु पनि अहिले नगरपालिकाले हटाएको छ । दुई वर्ष अघि सम्पन्न गरिएको योजनाका बारेमा अख्यितारले चाँसो राखेपछि अहिले व्यवस्थित गर्ने भन्दै नगरपालिकाले नै हटाएको हो । स्ट्याण्डहरु पनि अहिले नगरपालिका भित्र राखिएको छ ।