धनगढी: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको उचाईमा फल्ने प्रसिद्ध मौसमी फल काफल चाखेका छन्। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले मोदीलाई काफल चखाएका हुन्। काफल खाएपछि मोदी त्यसको फ्यान बनेका छन्।
उनले त्यसबारे पत्र लेखेर आफ्नो भावपूर्ण भावना व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले मुख्यमन्त्री पुष्करसिंह धामीलाई पत्र लेखेर धन्यवादसमेत व्यक्त गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री धामीलाई सम्बोधन गरेको पत्रमा लेखिएको छ, ‘देवभूमि उत्तराखण्डबाट पठाइएका रसिला र दिव्य मौसमी फलफूल ‘काफल प्राप्त भयो। हाम्रो प्रकृतिले हामीलाई एक भन्दा बढी वरदान दिएको छ र उत्तराखण्डमा भने कन्द, जरा र फलफूल र औषधीय गुणहरू प्रशस्त मात्रामा पाइन्छ।’
पत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो फल उत्तराखण्डको संस्कृतिमा पनि जोडिएको लेखेका छन्। उनले लेखेका छन्, ‘यहाँको लोककथामा पनि विभिन्न रुपमा पाइन्छ। त्यहाँ उपलब्ध विभिन्न प्रकारका पहाडी फलफूलहरूको स्वाद नपाएमा उत्तराखण्डको यात्रा अधुरो रहन्छ।’
बढ्दो मागका कारण मध्य हिमाली क्षेत्रमा पाइने यो फलले स्थानीयलाई आर्थिक बल पनि प्रदान गरिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताए। पत्रमा खुसी व्यक्त गर्दै उनले एक स्वरमा लेखेका छन्, ‘काफलको उपयुक्त बजार सुनिश्चित गरी गुणले भरिपूर्ण यो फललाई अधिकतम जनसमुदायसम्म पुगाउने प्रयास भइरहेकोमा खुशी छु। म बाबा केदार र भगवान बद्री विशाललाई उत्तराखण्डका जनताको कल्याण र राज्यको समृद्धिको लागि प्रार्थना गर्दछु।’
यस्तै मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रधानमन्त्री नरेन्द्र मोदीको पत्रप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
काफल सुदूरपश्चिमका पहाडी जिल्लासमेत फल्ने गर्छ। गर्मीयाममा यहाँका स्थानीयले काफल बेचेर घरखर्च समेत चलाउने गरेका छन्।