डडेल्धुराः नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले प्रदेश सभाको निर्वाचनमा आफूलाई गाउँलेले भोट नदिएको गुनासो गरेका छन्।
शनिबार किसान शहीद भीमदत्त पन्तको जन्मथलोमा ई–लाइब्रेरीको उद्घाटन कार्यक्रममा बोल्दै बोहराले अमरगढी नगरपालिकाको वडा नम्बर २ र ३ का जनताले मतदान नगरेको आरोप लगाएका हुन्।
‘गन्यापधुरा, नवदुर्गा, अजयमेरुको मान्छेले मलाई भोट हाल्यो। यो नगरपालिकाले हालेन। त्यसमा यी दुई वटा वडा डोट्याल भन्हान् इन डोट्यालले झन् भोट हालेनन्’ उनले भने, ‘क्याकी हालेन् मेरो केही गल्ती भए माफ गर्नूहोला। बजेट ज्यादा हाल्या हुनाले हो कि? मलाई भन्न त भन्या हो, तपाईं यति बजेट हाल्दै हुनुहुन्छ, चुनाव हार्नुहुन्छ।’
पूर्वमन्त्री बोहराले आफू मन्त्री भएर चार/पाँच महिनाको दौरान जिल्लामा पौने तीन अरब रूपैँया ल्याएको दाबी गरेका छन्। ‘५० करोडको लगानीमा सिटी हल बनाउँदै छौं। विश्वविद्यालय खोलिसक्यौं। डाक्टर, नर्सिङ यहीँ पढाउन मेडिकल कलेजको सुरुवात भइसक्यो। म मन्त्री हुँदा बहुप्राविधिक विद्यालय यहाँ खोलेको छु,’ उनले भने, ‘जो एक सय करोडको हो। मेरो व्यक्तिगत पैसा होइन्। तर, जनताले तिरो तिरेको पैसा हो। बजेट ल्याउन त्यति सजिलो छैन्।’
प्रदेशसभा २ मा उठेका पूर्वमन्त्री बोहरा गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार तारा जोशीसँग पराजित भएका थिए।