धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले छलफलका लागि ३ दललाई बोलाएका छन् ।
सोमबार बसेको तीन दलका संसदीय दलको संयुक्त बैठकले बजेट संशोधन नभएमा पारित गर्न नसकिने निर्णय गरे लगत्तै नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता र प्रमुुख सचेतकलाई मुख्यमन्त्री शाहले छलफलका लागि बोलाएका हुन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक मानबहादुर धामीले मुख्यमन्त्री शाहले छलफलका लागि बोलाएपछि मुख्यमन्त्री कार्यालय पुगेको पुष्टि गरे । उनकाअनुसार अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन दलका नेता र प्रमुख सचेतकबीच मुख्यमनत्रीले छलफल गरिरहेका छन् ।
असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले प्रदेशसभामा २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए । चालु आर्थिक वर्ष सकिन ६ दिन बाँकी रहेका बेला सांसदहरुकै असन्तुष्टिका कारण बजेटमाथिको छलफल सुुरु हुुन सकेको छैन । सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले काठमाडौँमा शिर्ष नेताहरुसँग समेत भेटघाट गरेर बजेट संशोधन नभए पारित गर्न नसकिने चेतावनी दिएका थिए ।