धनगढी: कैलालीको धनगढीसहितका सीमानाकामा सशस्त्र प्रहरीले बल नेपालले सक्रियता बढाएको छ। पछिल्लो समय सशस्त्रले नाकामा कडाइ गर्नुका साथै धमाधम भन्सार छलीका सामान बरामद गरिरहेको छ।
आज (मंगलबार) मात्रै सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण धनगढी, कैलाली तथा अन्य गुल्म एवं विओपिहरुले कुखुरा बरामद गरेर नष्ट गर्नेदेखि अवैध सामानहरु समेत बरामद गरेको छ।
जसमा प्रस्तावित सीमा सुरक्षा गुल्म गुलरियाधाम र विओपी जुगेडाले ६३ हजार ४ सय मूल्य बराबरको अवैध कुखुरा बरामद गरेर नष्ट गरेको छ। यस्तै नम्बर ३४ गणले धनगढीको वडा नम्बर २ वैयाबेहडीबाट ५७ हजार ६ सय बराबरको तामाका भाडाकुडा बरामद गरेको छ। भने प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरले पनि २ लाख ६० हजार बराबरका मोबाईल बरामद गरेको छ। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार पठाइएको ३४ नम्बर गणका डिएसपी तथा सूचना अधिकारी धिरेन्द्र शाहले बताए।