काठमाडौं: अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगरपोष्ट डटकम शनिबारबाट चौथो वर्षमा प्रवेश गरेको छ। महेन्द्रनगरपोष्टले २०६१ सालबाटै सुदूरपश्चिमको प्रथम सन्ध्याकालीन दैनिक पत्रिकाको रुपमा यात्रा थालेको थियो।
त्यस बखतदेखि निरन्तर प्रकाशित हुँदै आएको पत्रिकाको २०६९ सालमा आएर विविध कारणले दैनिक प्रकाशन बन्द गर्नुपर्यो। तत्पश्चात संविधान, लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल हुँदै आजको दिनसम्म र बीचमा आएका कोभिडजस्ता विभिन्न महामारी एवं संक्रमणकालीन अवस्थालाई पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ।
तीन वर्षअघि आजकै मितिमा बदलिँदो प्रविधि र मिडियाको विकासक्रम अनुसार महेन्द्रनगरपोष्ट डटकम डिजिटल पत्रिका (अनलाइन) संस्करणको बीजारोपण भयो।हामीले कुनै ठाउँ विशेषको नाम राखे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने लक्ष्य लिएका छौं।
विषेशगरी सुदूरपश्चिम र सुदूरपश्चिमेलीहरु हाम्रो प्राथमिकतामा छन्, चाहे ती स्वदेशमा बस्ने हुन् या विदेशमा। पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने र जनमानसको आवाजलाई बोक्ने हाम्रो लक्ष्य अहिले पनि कायमै छ। कालान्तरसम्म पनि कायम रहनेछ।
महेन्द्रनगरपोष्टले तीन वर्षको अवधिमा नेपाल र विशेषत: सुदूर नेपालको डिजिटल मिडियालाई विश्वसनीय र व्यावसायिक रुपमा स्थापित गर्न आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेलेको छ।
नयाँनयाँ खबर (ब्रेकिङ) र श्रृंखलाबद्ध सामाजिक, राजनीतिक र आर्थिक र सुरक्षा क्षेत्रका मुद्दामा विभिन्न रिपोर्टहरूसँगै विश्लेषणहरू हामीले प्रस्तुत गर्दै आइरहेका छौँ। समाजको सुक्ष्म निगरानी, भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम र सुरक्षा क्षेत्रलाई संवेदनशील बनाउन हामीले विषेश भूमिका खेलिरहेको हाम्रो दाबी छ। यस सन्दर्भमा हाम्रा पाठक–दर्शक र शुभेच्छुकहरूबाट पाएका सुझाव र प्रतिक्रियाले हामीलाई थप सशक्त रुपमा अगाडि बढ्न उर्जा दिइरहेको छ।
सुदूरपश्चिमलाई केन्द्रित गरेर सम्पूर्ण नेपाल र नेपालीका सन्दर्भमा विविध सामग्रीहरु व्यावसायिक रुपमा पस्किने र विश्वभर रहेका नेपालीलाई डिजिटल माध्यमबाट जोड्ने उदेश्यमा महेन्द्रनगरपोष्टले सफलता पाएको हाम्रो विश्वास छ।
चौथो वर्ष प्रवेशको यो सुखद अवसरमा हामी ती सबै पाठक, शुभेच्छुक र व्यावसायिक संस्थाहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ, जसले आफ्नो संस्था र देशको अर्थतन्त्र धर्मराएको अवस्थामा समेत हामीप्रति आफ्नो विश्वास र सहयोगलाई निरन्तरता दिए।
तसर्थ भन्नै पर्ने भो अहिलेसम्मको यात्राले साबित गरिसकेको छ : हामी सत्य-तथ्यमा आधारित सन्तुलित पत्रकारितामा कसैसँग पनि सम्झौता गर्दैनौँ।
-रवि धामी, प्रधान सम्पादक