काठमाडौँः जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेय दार्चुलामा कार्यरत रहेको नौ महिना भयो । उनी गत ०७९ असोजमा दार्चुला प्रहरीको कमाण्ड सम्हाल्न त्यहाँ पुगेका थिए ।
दार्चुला प्रहरी प्रमुखको रुपमा पहिलो पटक उनी जिल्ला पुग्दा अघिल्लो महिना भदौमा मात्रै लास्कु खोलामा ठुलो बाढी आई पहिरो गएको थियो । आफू जिल्ला आउने बेलाको एउटा ठुलो घटनाको रुपमा स्मरण गर्दै डीएसपी पाण्डेय भन्छन्, ‘महाकाली नगरपालिका–३ र ४ को सीमाना रहेको सो खोलामा आएको बाढी पहिरोबाट ठुलो धनजनको क्षति भएको थियो । बाढी पहिरोमा मान्छेहरु बेपत्ता भए । पछि हामीले खोजी गरी उद्धार पनि गर्यौँ ।’
त्यसपछि भएको प्रतिनिधि सभा सदस्यको चुनाव भने शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उनी बताउँछन् । उनले जिल्लामा आत्महत्या, आत्महत्या दुरुत्साहन, जबरजस्ती करणी, बहुविवाह, जुवा खेल्ने, सट्टेबाजी गर्ने, लागुऔषध सम्बन्धीका घटनाहरुमा मुद्दा दर्ता भएका बताए । उनका अनुसार लागुऔषधमा २२÷२४ वर्षका युवादेखि ७३ वर्षीय वृद्धसम्म संलग्न रहेका पाइएको छ ।
यद्यपी लागुऔषध सम्बन्धीका घटनाहरु भने यदाकदा मात्रै भेटिने गरेको उनी बताउँछन् । आत्महत्या, जबरजस्ती करणीलगायतका आपराधिक घटना न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय, समुदाय तथा लक्षित वर्गलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको उनले बताए ।
जिल्लाभरि रहेका प्रहरी इकाइमार्फत समय तालिका बनाएर दैनिक रुपमा कम्तिमा पनि दुई वा सो भन्दा बढी समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । यसले मानिसलाई भित्री आत्माबाटै नराम्रा क्रियाकलापमा नलाग्न उत्प्रेरणा जगाउने र आपराधिक क्रियाकलाप न्यूनीकरणमा मद्दत पुग्ने उनी बताउँछन् ।
भारत र चीनसँग सीमाना जोडिएको भौगोलिक रुपमा विकट जिल्ला भएकाले सेवा प्रदान गर्न त्यति सहज नभएको उनको भनाइ छ । ‘भौगोलिक रुपमा विकट छ, सबै ठाउँमा गाडीको पहुँच छैन,’ उनले भने, ‘तिंकर जानकै लागि भारतको बाटो प्रयोेग गर्नुपर्ने अवस्था छ । सडक सञ्जालको अवस्था एकदमै नाजुक छ, सडक सञ्जाल भएपनि कच्ची सडकहरु जुन बर्खायाम लागेदेखि असोज कार्तिकसम्म लगभग पूर्ण रुपमा बन्द नै हुन्छन् ।’
यस्ता ठाउँमा घटना घट्दा आफूहरुलाई तुरुन्तै त्यहाँ पुग्न एकदमै असहज हुने गरेको उनी बताउँछन् । ‘भौगोलिक विकटता, सडक सञ्जालको असुविधा नै हाम्लाई मेन चुनौतीको रुपमा रहेको छ,’ उनले भने । सडक नपुगेका ठाउँमा पनि अस्थायी प्रहरी चौकीहरु राखेर सेवा दिइरहेको डीएसपी पाण्डे बताउँछन् । त्यस्ता ठाउँमा जति जे जस्तो अप्ठ्यारो भए पनि आफूहरु सेवा सुरक्षामा खटिइ नै रहेको उनी बताउँछन् ।
त्यस्तै, अपवाद बाहेक जिल्लाका सम्बन्धित निकाय तथा स्थानीयहरुबाट पूर्ण रुपमा समन्वय तथा साथ पाइरहेको उनले बताए । प्रहरी जनताको सहयोगी भएकाले अपराध नियन्त्रणमा जिल्लावासीलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।