काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडको सर्वसाधारणको लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको नक्साल स्थित कार्यालयमा मंगलवार बिहान आईपीओ बाँडफाँट गर्दा खरीदका लागि आवेदन दिएकामध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदकको हात खाली भएको छ ।
कम्पनीको आईपिओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको क्यापिटलले जनाएको छ । योग्य २१ लाख ६८ हजार १०० ओटा आवेदनबाट १ लाख ६६ हजार ३ सय ४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ता शेयर पाएका छन् ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गर्दा पहिलो चरणमा १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले शेयर पाएका छन । पहिलो चरणमा शेयर बाँडफाँड गर्दा ३ कित्ता शेयर बाँकी रहन गएकोले त्यसलाई पुनः बाँडफाँड गरिएको छ ।
१० कित्ता शेयर शेयर पाउने १ लाख ६६ हजार ३ सय ४५ जना मध्येबाट १० कित्ता भन्दा बढी शेयरको लागि आवेदन दिएकालाई गोलाप्रथामा समावेश गराई पुनः बाँडफाँट गर्दा ३ जनाले थप १ कित्ताको दरले शेयर पाएका हुन् ।
कम्पनीले सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिसकेको छ । यी बाहेक सार्वजनिक निष्कासन मार्फत विक्री गरेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता शेयर कम्पनीले मंगलवार बाँडफाँट गरेको हो ।