डडेल्धुरा: डडेल्धुरामा किर्ते हस्ताक्षर गरी विपद् व्यवस्थापनको रकम हिनामिना गरेको भन्दै जिल्ला प्रशासनमा उजुरी दिएकाहरु बेचिएका छन्। अमरगढी नगरपालिका-४ का उनीहरुले देखावटी निवेदन दिएर प्रशासन र मिडियालाई पंगु बनाएका छन्।
उक्त खुलासा भएपछि ५ स्थानीयले हिजो जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। उनीहरुले किर्ते हस्ताक्षर गरि आफ्नो नाम बाट त्रीपाल, टिन र जस्ता कुम्ल्याएको भन्दै कारबाहीको माग गरेका थिए। तर, आजै उनीहरुले दबाबमा आएर निवेदन दिएको भन्दै कुनै कारबाही अगाडि नबढाउन भनेर अर्को निवेदन दिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाले बताए।
‘हामीले केही मनमुटाव भएर उक्त निवेदन दिएको भन्दै कारबाही नगरिदिन हुन भनेर आज पाँचैजनाले अर्को निवेदन दिएका छन्’ उनले भने ‘उनीहरुले हामीले सरसामान बुझेका हौं भनेर भनेका छन्।’ अधिकृत ओझाले हिजो (बुधबार) प्राप्त भएको निवेदनका आधारमा अमरगढी नगरपालिकालाई अनुसन्धान गर्न अनुरोध गरेको बताए।
तर, विश्वनीय स्रोतका अनुसार उजुरीकर्तालाई ३०/३० हजारको अफर गरेर निवेदन फिर्ता लिन लगाइएको छ। मिडियामा उक्त काण्ड आएर अख्तियारको समेत नजर परेपछि उजुरीकर्तालाई ‘यता मिलौं, हामी अख्तियारलाई मिलाउछौं’ भन्दै ३०/३० हजार बाँडिएको स्रोतको दाबी छ।
उता अमरगढीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले यो विषय सामान्य भएको बताएका छन्। ‘देशमा कत्रा कत्रा सुन काण्ड त केही भएको छैन। यो त सामान्य विषय हो’ उनले भने। उनले उक्त विषयमा आफूहरुले बुझ्ने र अनुसन्धान गर्ने कार्य गरिरहेको समेत बताए।
जिल्लाको अमरगढी नगरपालिका–४ को कार्यालयले विपद् व्यवस्थापनका सामग्री वितरण गरेको भरपाईमा किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको खुलेको थियो।
स्थानीयको नक्कली हस्ताक्षर गरेर वडाध्यक्ष र वडा सचिवले रकम हिनामिना गरेको आरोप लागेको हो। उनीहरुले वडा कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा विपद् व्यवस्थापन सामग्रीहरु वितरण गरेको नक्कली हस्ताक्षर गरी भरपाई तयार गरेको थियो।
भरपाईमा उनीहरुले ३६ जनाभन्दा बढी स्थानीयको नाम राखेत किर्ते हस्ताक्षर गरेका छन्। स्थानीयलाई त्रिपाल, टिन र ग्याबिन जाली वितरण गरेको देखाइएको छ। नक्कली तयार गरिएको भरपाईमा १ थान त्रिपालको तीन हजार ८८८ रुपैयाँ, १ थान टिनको ७३८ रुपैयाँ र ग्याविन ३२०७ रुपैयाँ दर राखिएको छ।
यसरी किर्ते हस्ताक्षर गरी झण्डै दुई लाख १३ हजार १७९ रुपैयाँ बराबर हिनामिना गरेको देखिएको छ। वडा कार्यालयबाट विपद् व्यवस्थापनको शिर्षकमा ६५ हजार २४९ रकम विनियोजन गरिएको भएपनि विभिन्न शिर्षकबाट रकमान्तर गरी अनियमितता गरेको खुलेको थियो।
भरपाईमा नक्कली हस्ताक्षर गरिएका स्थानीयले सामग्री र नगद नपाएको गुनासो गरेका थिए।
वडासचिव केशव ओझाले भने यो काण्डमा आफ्नो संलग्नता नभएको तर आफूलाई फसाइने जालझेल भएको भन्दै आफन्तमाझ स्विकार गरेका छन्।
सम्बन्धित समाचार:
डडेल्धुराको अमरगढीमा किर्ते हस्ताक्षर प्रकरण: ५ जनाले दिए प्रशासनमा निवेदन
डडेल्धुराको अमरगढी-४ मा यस्तो बदमासी, नक्कली हस्ताक्षर हानेर रकम कुम्ल्याइयो