दार्चुला: दार्चुलामा एक वर्षको अवधिमा २७ जनाले आत्महत्या गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९-८० मा २७ जनाले आत्महत्या गरेका छन्।
आत्महत्या गर्नेमा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या सबैभन्दा बढी देखिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, डीएसपी तर्कराज पाण्डेयका अनुसार गत आर्थिक वर्षमा २४ जनाले झुण्डिएर र तीन जनाले विष सेवन गरी आत्महत्या गरेका छन्।
दार्चुला प्रहरीले पाँच जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ। अदालतबाट सजाय भई फरार रहेका विभिन्न मुद्दाका पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, डीएसपी तर्कराज पाण्डेयले बताए।
उनका अनुसार लागुऔषध चरेसका २ जना, जवरजस्ती करणीका २ र ठगी मुद्दाका १ जना गरी ५ जनालाई पक्राउ गरिएको हो। अझै विभिन्न मुद्दाका ३२ जना प्रतिवादी फरार रहेको प्रहरीले जनाएको छ।