धनगढीः बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भयो। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको थियो। तर केही मिडियाले भने त्यसलाई छाउपडीको रंग दिएर प्रस्तुत गरेको आफन्तले आरोप लगाएका छन्।
विभिन्न सरकारी तथा गैरसरकारी मिडियाले अनितालाई महिनावारी भएको बेला गोठमा बसाइएको र सर्पले टोकेर ज्यान गएको भन्दै प्रसारण तथा प्रकाशन गरेका थिए। तर वास्तविकतामा भने त्यसो नभएको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले मंगलबार घरभित्र नै सुतेको अवस्थामा सर्पले टोकेको र बुधबार बिहान अनिताको ज्यान गएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
आफूले परिवारका सदस्यलाई सम्पर्क गरेर बुझ्दा मृतक अनिता छाउपडी नभएको र माटोको घर भएका कारण सर्प छिरेर टोकेको जानकारी गराएको पन्थीले बताए।
यस्तै, परिवारका सदस्यहरुले पनि अनिता महिनावारी पनि नभएको र गोठमा सुतेको भन्दै गरिएको प्रचार गलत भएको दाबी गरे। उनीहरुले घरभित्र सर्पले टोकेकोमा अनिता आत्तिएर बाहिर आएर कराएपछि घटना थाहा भएको जनाए।
अनिताको घर पालिकाको केन्द्र नजिकै पर्दछ। पहिले बैतडीमा छाउपडी प्रथा विकराल रुपमा रहेको भएपनि अहिले बिस्तारै घट्दै गएको बताइन्छ। अनिता जवलपुर मावि सैलोडामा अध्ययनरत थिइन्।