बैतडी: बैतडीमा पनि आँखा पाक्ने रोग फैलिँदै गएको छ। तराईका जिल्लाहरुमा देखिएको आँखा पाक्ने रोग पछिल्लो समयमा बैतडीजस्ता पहाडी जिल्लामा समेत फैलिँदै गएको आँखा उपचार केन्द्र गोठलापानीले जनाएको छ।
आँखा उपचार केन्द्र गोठलापानी र आँखा उपचार केन्द्र पाटनमा २० दिनको अवधिमा ८ सय आँखाका बिरामी उपचारका लागि आइसकेको बताइएको छ।
दैनिक २० जनाजति आँखा पाकेका बिरामीहरु केन्द्रमा उपचारका लागि पुग्ने गरेका आँखा उपचार केन्द्र पाटनकी नेत्र सहायक लता कार्कीले बताइन्।
आँखा पाक्ने रोग लागेका बिरामीहरुमा आँखा रातो हुने, सुन्निने, चिलाउने, आँसु झर्ने लगायतका लक्षणहरु देखा पर्ने गरेका छन्।
एडिनो भाइरसका कारण मानिसहरुमा आँखा पाक्ने रोग फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन। संक्रमण भएमा नजिकको आँखा उपचार केन्द्रमा पुगेर उपचार गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।