धनगढीः घुस प्रकरणमा मुछिएका कृष्णदत्त भट्टलाई पुनः सुदूरपश्चिम प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरिएको छ। वन मन्त्रालयको असहमतिकैबीच मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले भट्टलाई प्रदेशको निमित्त वन निर्देशकमा नियुक्त गरेको हो।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालय अन्तर्गत मातहतका कार्यालयहरूबाट घुसवाफत रकम असुली गरेको भिडियो सार्वजनिक भएपछि उनी विवादमा मुछिएका थिए।
भट्टको नियुक्तिले वन क्षेत्रका अधिकृतहरू भने रुष्ट भएका छन्। वन मन्त्री रमेश धामी, राज्यमन्त्री गीतादेवी माल र मन्त्रालयका सचिव वेदकुमार ढकालले समेत भट्टलाई निर्देशक नियुक्त गरिएकोमा असन्तुष्टि जनाएका छन्।
वन मातहतकै कर्मचारीलाई फोन गरेर भट्टले आफ्नो नियुक्ति रोक्न लागेको आरोप लगाउँदै वन मन्त्री रमेश धामीलाई सुन्नै नसकिने शब्दमा आमाचकारी गालीगलोच गरेको अडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ।