धनगढी: कैलालीको जानकी गाउँपालिका–९ मा रहेको अरुणोदय माध्यमिक विद्यालयमा साढे ७ लाखको लागतमा पुुस्तकालय स्थापना गर्ने घोषणा गरिएको छ । जानकी गाउँपालिका–९ घर भएर हाल नाइजेरिया बस्दै आएका हिक्मत थापाले विद्यालयमा पुस्तकालय विस्तार तथा आधुनिकीकरण परियोजना अन्तरगत पुस्तकालय स्थापना गरिन लागेको बताएका छन् ।
नाइजेरियाबाट परियोजनाको संयोजन गरिरहेका थापाले शुभचिन्तकहरुबाट रकम संकलन गरेर विद्यार्थीका लागि पुस्तकालय निर्माणको तयारी भएरहेको बताए । उनकाअनुसार नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोग रहने पुस्तकालय निर्माण स्थलको अवलोकन निरीक्षण समेत भइसकेको छ । थापाकै पहलमा विद्यालयमा परियोजना लागुु भएर पुस्तकालय स्थापना गरिने लागेको हो ।
थापाले आफ्ना स्व. बुबा स्व.गगनसिंह थापाको भदौँ ५ गते परेको जन्म जयन्तीको पूर्व सन्ध्या तथा शुक्रबार परेको विद्यालयको ५१ औँ वार्षिकोत्सवको अवसरमा पुस्तकालय स्थापना गर्ने घोषणा गरेका हुन् । २०२९ सालमा थापाका बुवाले अरुणोदय माध्यमिक विद्यालयको स्थापना गरेको थिए । विद्यालयका संस्थापक प्रधानाध्यापक समेत रहेका थापा आख्यानकार, शिक्षाप्रेमी एवंम् समाजसेवीका रुपमा परिचित व्यक्ति थिए ।
थापाका सोह्र सौगात, कर्णालीको छेउछाउ, पुर्खाको चिठ्ठी, मेरो मधुशाला, मरुभूमीकी महारानी लगायतका कृतिहरु चर्चित छन् । नाइजेरियामा बस्ने हिक्मतले २०२९ सालबाट अरुणोदय माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका थिए । उनी विदेशी भुमीबाट बेलाबखत विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।
कोरोना महामारीका बेला थापाले ह्युम्यानीटी फाउन्डेसनमार्फत समस्या परेकाहरुलाई सहयोग गरेका थिए भने टीकापुर अस्पताललाई शव बाहन खरिद गरेर हस्तान्तरण गर्ने कार्यमा पनि भूमिका खेलेको थिए । यस्तै, कटाँसे खैरीफाँटा विकास मञ्चले सञ्चालन गरेको एम्बुलेन्स खरिदमा समेत सहयोगसँगै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले परियोजना अन्तरगत स्थापना गरिन लागेको डिजिटल लाइब्रेरीमा करीब १० हजार भन्दा पुस्तक तथा पठनीय सामाग्री उपलब्ध हुने जानकारी दिए । उनकाअनुसार पुस्तकालयमा विधागत पुस्तकहरु, बाल साहित्य, नेपाली साहित्य, अंग्रेजी साहित्य, इतिहास, भुुगोल, धर्म संस्कृती, राजनीति, विप्रषण(रेमिट्यान्स) बैदेशिक रोजगारी सम्बन्धी पुस्तकका साथै विद्यालयमा कार्यरत शिक्षकका लागि अतिरिक्त शैक्षिक सामाग्रीहरु उपलब्ध हुनेछन् भने दैनिक रुपमा प्रकाशित पत्रपत्रिकाहरु पढ्ने व्यवस्था मिलाइनेछ ।
विद्यार्थीहरुले इनटरनेटको माध्यमबाट आफूलाई आवश्यक पर्ने सूचना तथा सामाग्रीहरु प्राप्त गर्ने, समय सापेक्ष रुपमा थपिने ज्ञानमा पहुँच अभिबृद्धि गर्ने अवसर पाउनेछन् । भाटले बालबालिकामा अध्ययन गर्ने बानीको विकास हुनुका साथै शिक्षण सिकाइमा टेवा पुग्दै नयाँ नयाँ ज्ञान प्राप्त गर्ने विश्वास गरिएको छ ।