–राधाकृष्ण देउजा
अकारण असामयिक र अन्यायपूर्ण रुपमा भएको प्रहरी उच्च अधिकृतहरुको सरुवा पश्चात सरुवा हुने एआइजीहरुलाइ धन्यवाद र शुभकामनाको सुरुवात गर्दै गर्दा नै लेखेको छु कि त्यस रुपमा भएको उच्च प्रहरी अधिकृतहरुको सरुवा उनीहरुको लागि चाही रहरको सम्बोधन भन्दा पनि नियतिको ग्रहण नै हो। त्यसैले उनीहरु जहाँ थिए, त्यहाँ गरेको कामको लागि उनीहरुलाइ धन्यवाद दिंदै जहाँ गए त्यहाँ राम्रो काम गर्न सकुन् भन्ने शुभकामना दिनु नै अहिलेलाइ बान्छनीय छ।
त्यसैले त्यसैको निरन्तरता स्वरूप धन्यवाद र शुभकामना दिउँ नेपाल प्रहरीमा रहेर गरेको कामले आम छोरीहरुकै शिर ठाडो पार्न सक्ने बहादुर मिरा चौधरीलाई।
मिरा चौधरी साहसि र बहादुर महिला हुन् भन्ने जान्नलाइ नेपाल प्रहरी बुझ्न पनि पर्दैन। संघर्षपूर्ण जीवन र उदाहरणीय सफलताको अर्को नाम हो मिरा चौधरी भन्ने कुरा त महिला फुटबलको इतिहास बुझेकाहरुलाइ पनि थाहा छ। स्वयं मैले पनि मिरा चौधरीलाइ देखेको भेटेको छैन तर कुनै बेला म कामको सिलसिलामा बिरगन्ज हुँदा एकजनाले सानैदेखि सहासी र सहासले सफल छोरीको उदाहरण दिंदै मिरा चौधरीको नाम लिएर उहाँको घर पनि मलाइ देखाएको थियो।
उनले त्यसो भन्दै गर्दा प्रतिगमनविरुद्ध आन्दोलनको दौरान काठमाण्डौमा भिड नियन्त्रण गर्दै गरेको देखेको लोभलाग्दो व्यक्तित्वको धनि महिला अधिकृत अरु कोहि नभएर उनै मिरा चौधरी रहेछन् भन्ने थाहा पाएको थिएँ। अनि जब म स्वयं प्रहरीलाइ नजिकबाट नियाल्दै रहने मान्छे बने, तब त मिरा रोल मोडेल नै रहेको थाहा भयो।
विभिन्न महत्वपूर्ण जिल्ला प्रहरी प्रमुखको रुपमा गरेको कामहरु, अपराध महाशाखामा रहँदाको चर्चित इन्काउन्टर , सीआइबी हुँदा चलाखीपूर्ण रुपमा गरेको सुन पक्राउ, ट्राफिक प्रहरी प्रमुख हुँदा उत्कृष्ट ट्राफिक व्यवस्थापन मात्रै नभएर कुनै बेला धनुषा जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा हुँदा उनलाइ हाजिर हुन नदिन गृहमन्त्री भैसकेको व्यक्ति समेत लागेको सत्य लगायत धेरै तथ्यपूर्ण इतिहास छ।
जसले मिरालाइ सम्मान गर्न उनकै प्रतिस्पर्धीहरुलाई बाध्य बनाउँछ। अनि ति कुनै स्थानमा रहदा कुनै काण्डमा नपरेको , आर्थिक लेनदेनको आरोप कहीं कतै नलागेको तथ्यले पनि मिरालाइ उच्च नैतिकता भएको अधिकृतको रुपमा चिनाउँछ। अहिले प्रहरी बुझेको र त्यसको बारेमा मिहीन रुपमा बुझेको मान्छेको रुपमा भन्नु पर्दा मिरा कोहि कसैले भनेको नमान्ने मात्रै नभई चेन अफ कमाण्ड भन्दा बाहिरबाट आउने कसैको सुझाव सल्लाह निर्देशन सिफारिश वा केहि पनि सकेसम्म सुन्नै नचाहने अनि सुने पनि नमान्ने जब्बर अधिकृत हुन्। उनलाई नकसैलाइ खुसि पार्ने चाह छ न त कोहि रिसाउला कि भन्ने डर।
त्यसैले हो उनी आजसम्म जहाँ पुगिन् त्यसको लागि उनले आफू, आफ्नो कर्म र आफूले गरेको धर्मबावमहेकअरु कसैप्रति आभारी हुनुपरेको छैन। अहिले भर्खरै भएको सरुवा होस वा केहि समय अगाडी उनले ढिला गरेर पाएको बढुवा होस, उनको लागि भइपरि आएको हो। न उनलाई हिजो कहाँ राखे भन्ने चिन्ता थियो न त आज कहाँ पठाए भन्नेमा उत्साह छ। सदाझैं उनी खटिएको ठाउँमा गएर पाएको जिम्मा निष्ठापूर्ण ढंगले पुरा गर्नेमै दत्तचित्त हुनेछिन्।
यद्धपि प्रहरी बुझेको जो कोहिले भन्न चाहि सक्छ कि मिरा चौधरीको लागि यो सरुवा अरु कुनै सरुवाजस्तै बेमतलबको विषय भए पनि प्रहरीको आर्थिक अनुशासन कायम गर्ने लगायत बजेट व्यवस्थापन सम्मको दायित्व बोकेको विभागमा उनको सरुवाले प्रहरीले वा प्रहरीलाइ लुट्ने प्रवृतिमा ब्रेक लाग्ने पक्का छ।
त्यसैले आउनुस् आफ्नो इमान, हिम्मत, साहस, निष्ठा र प्रष्टताले सफल र सम्मानित नेपाली जनताकी बहादुर छोरी मिरालाई आजसम्म गरेको कामको लागि धन्यवाद दिंदै आगामी दिनमा पनि सफल रहन शुभकामना दिउँ।