विन्दु चन्द, बैतडी: वर्षैभरि विभिन्न चाडपर्व आउँछन् । सबैको घरमा हर्षोल्लास छाइरहन्छ । दाजुभाइ–दिदीबहिनीमा मायाप्रेम प्रगाढ हुन्छ । तर मलाई कुनै पनि चाडले छुन्न किन होला ? त्यो मलाई नै थाहा छैन । मलाई यी कुरा कसरी राख्ने अर्थात कसरी भन्ने ? कुनै शब्द पनि छैनन् ।
आज रक्षा बन्धन यसलाई म यसरी व्याख्या गर्छु । पर्व एउटै भएपनि फरक गाउँ, समाज अथवा टोल समुदायमा फरक किसिमले मनाइन्छ । हरेक समुदायमा फरक–फरक परम्परा तथा चलनहरु हुन्छन् । यस्तै हाम्रो समुदायमा पनि फरक किसिमले रक्षा बन्धन मनाइन्छ । अहिले गाउँघरमा कसरी रक्षा बन्धन मनाउँछन् म अनभिज्ञ नै छुँ । किनभने नयाँ प्रविधि युगसँगै संस्कृतिहरुमा पनि नयाँपन आएको छ ।
म सानो हुँदा हाम्रो गाउँमा ब्राह्मण (पुरोहित) आउनुहुन्थ्यो । जनैपूर्णिमा अर्थात रक्षा बन्धनको दिन बिहानै ब्राह्मण आएर हरेक घर–घरमा घुम्दै रक्षा धागो नाँडिमा बाँधिदिने गर्नुहुन्थ्यो । बिहानै उठेर नुहाई धुवाई गरी मिठा खानेकुराहरु पकाएर बाहुनको प्रतिक्षा गरिन्थ्यो । बाहुन आएपछि रक्षा धागो नाँडिमा बाँध्ने र उहाँकै हातबाट टिका लगाएर बल्ल त्यसपछि खाना खाने र आ–आफ्नो कामतिर लागिन्थ्यो ।
हाम्रै गाउँमा पनि फरक टोलमा फरक किसिमले रक्षा बन्धन मनाउँथे । दलित समुदायमा बाहुन आउन्नन् बहिनीले दाजुभाइको हातमा रक्षा धागो लगाइदिने गर्छन् भन्थे । तर हाम्रो समुदायमा भने बाहुनले नै रक्षा धागो बाँध्ने चलन थियो । म ३/४ कक्षामा पढ्दाको समयमा अन्तिम रक्षा धागो बाँधेको मलाई याद छ र त्यसपछि घरमा लगातार ४/५ वर्ष जति नै जुठो पर्यो । सायद त्यसैले होला हामीले सो समयसम्म रक्षा धागो बाँध्न पाएनौँ । तर पछि साना हामी ठुला हुँदै गयौँ । कहिले घरमा कोही नहुने कहिले कोही । त्यस्तै–त्यस्तै किसिमले रक्षा बन्धन मनाउन पाएनौँ ।
अहिले म विगत ८/९ वर्षदेखि घर बाहिर छुँ । म दाजुभाइ–दिदीबहिनीहरुसँग नबसेको अर्थात चाडपर्वको समयमा पनि भेटघाट नभएको करिब १४/१५ वर्ष जति नै भइसक्यो । सायद मलाई याद (ठुली) भएदेखि नै म उहाँहरुसँग बस्नै पाएकन छै् । म अहिले २४ वर्षकी भएँ ।
आउनुहोस् मेरो परिवारको थोरै वर्णन गर्छुँ । मेरो परिवारमा ५ दाजुभाइ र ७ दिदीबहिनी छौँ । म आफैँलाई अचम्म त यो लाग्छ कि म ठुलो दाइ र ठुली दिदीसँग बोल्न पनि लजाउँछुँ । पछिल्लो समय २/४ वर्ष मात्रै भयो होला म ठुली दिदी र ठुला दाइहरुसँग अलि बोल्न हिम्मत गर्न सकेको । डर पनि होइन, तर थाहा छैन किन ।
सायद म नजन्मिँदै उहाँहरु जागिरे अर्थात विदेशिएका भएर होला । कहिले घरमा नहुने । उहाँहरुसंग खेल्न, बस्न नपाएर पनि होला । उहाँहरुसँग सिधै बोल्न पनि कस्तो–कस्तो अप्ठ्यारो महसुस हुन्छ अहिले पनि । गाउँमा दाजुभाइको मायाप्रेम झगडा देख्दा आफुलाई पनि रहर नलाग्ने होइन दाजुभाइसँग खेल्ने रमाउने । तर मेरो परिस्थिति र मेरो घरको परिवेश नै त्यस्तै छ । हामी स–परिवार अहिलेसम्म कहिल्यै एकसाथ बस्न पाएकै छैनौँ ।
पछिल्लो समय डिजिटल प्रविधि बढ्दै गयो । भौगोलिक विकाससँगै पुरानो संस्कृतिलाई पनि नयाँ ढाँचामा ढालिएको छ । यो कुरा सामाजिक सञ्जालबाट प्रष्ट हुन्छ । चाडबाडको समयमा सामाजिक सञ्जालमार्फत शुभकामना आदान प्रदान त गरिन्छ तर प्रत्यक्ष सामाजिक सञ्जालमार्फत पनि कुराकानी हुन सक्दैन हामीहरुको ।
सबै आ–आफ्नो काममा व्यस्त हुन्छौँ । यस्तो भनिरहँदा धेरैलाई कति व्यस्त र ? फोन गर्न त समय मिलाउन सकिन्छ नि ? भन्ने लाग्ला । तर हामीमा त्यस्तो छैन । फोनमै पनि हामी सबै एकसाथ सहभागी हुनसक्ने किसिमको समय पनि जुर्दैन् । एक/एक गरेर १२ जनालाई फोन गर्न पनि भ्याइन्न । अर्थात प्रविधि भएपनि प्राविधिक कारणवश पनि समस्या छ । असम्भव भन्ने त छैन तर अब त मानसिकता नै यस्तो बनिसक्यो कि, के पो चाडबाड हो, के का लागि पो चाडबाड आउँछन् कुनै वास्ता नै हुन्न ।
हाम्रा लागि चाडपर्व भनेको जात्रा र मेला मात्रै हो । सामाजिक सञ्जालमा सबैले परिवार दाजुभाइसँग फोटोहरु पोस्ट्याएको देख्दा मन चसक्क हुन्छ । अरे आज चाड पो! भन्ने हुन्छ । तर परिवारभित्र मात्रै हुने खुसीयालीका पर्वका लागि कुनै ‘बाल’ नै हुन्न । आदणीय पाठकवर्गमा जनैपूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना ।