दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका १– का धनमाया सामन्त यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् ।
स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि धनमायालाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन ।
राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनाव मुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ ।
धनमाया मात्रै नभई उहाँका सबै परिवार गहुँ भित्र्याउन व्यस्तमात्रै छैनन् अर्कोतिर तोरी तथा केराउ टिप्ने कामले पनि फुर्सद छैन । कामको निकै चटारो छ, गहुँ भित्र्याउने चटारो एकातिर छ भने तोरी तथा केराउ टिप्ने चटारो अर्कोतिर”, छ । अर्का किसान मान सिहले भने, ‘मौसम राम्रो छ, यहीँ मौका छोपेर खेतमा लगाएको गहुँ भित्र्याउन सकेपछि मात्रै अरु कुराका बारेमा सोच्न सकिने छ ।
मङ्सिरमा लगाएको गहुँ भित्र्याएर चैतमा भित्र्याउने गरी अहिले गाउँघरमा कामको चटरो परेको छ । “काम नगरेर साँझ बिहानको गुजारा कसरी गर्ने ? वर्षातमा खेतमा कुनै खेती हुँदैन, त्यहीँ भएर पनि यो अहिलेको समय हाम्रा लागि निकै महत्वपूर्ण छ”, अर्का स्थानीय हर सिह धामीले भने, “हामीलाई चुनावको भन्दा बढी चिन्ता गहुँ बाली भित्र्याउने र मकै छर्नेको छ, समय भयो भने भोट हाल्न जानुपर्ला होइन भने कामभन्दा ठूलो हाम्रा लागि चुनाव होइन । उहाँले भन्नु भयो ।
उनले यसभन्दा पहिले पनि भोट माग्न आएकालाई भोट दिए पनि नेताहरूबाट पाएको आश्वासन पूरा नभएको गुनासो गरे । नेताहरू चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्, अब यो समयमा हामीलाई पनि चुनावी प्रचारका लागि आग्रहसमेत गर्छन्”, धामीले भने, “हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ, वर्षभरि खाने अन्न भित्र्याउनुभन्दा ठूलो पार्टीको चुनावी प्रचारप्रसार हाम्रा लागि हुन सक्दैन । सबै परिवार नै अहिले गहुँ काट्नमा व्यस्त छौँ, निर्वाचनमा नेताले किसानलाई आश्वासनमात्रै दिन्छन्, हाम्रा दुःख कसैले देख्ने होइन, खेतीका बेला सिँचाइका लागि पानी हुँदैन, भोट माग्दा आउँदा कुरा ठूला गर्छन् । उहाँले भन्नु भयो ।