काठमाडौँ: इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट सुदूरपश्चिमका पाँच महिलाको उद्धार गरिएको छ । कामको बहानामा भारत लैजाँदै गरेका १६ देखि ३० वर्ष उमेर समूहका पाँच महिलाको उद्धार गरिएको हो ।
झापामा काम लगाइदिने बहानामा सीमाना कटाउन लागेको अवस्थामा प्रहरी र माइती नेपालसहितको निगरानी टोलीले उनीहरुको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले बताए ।
उद्धार गरिएकामध्ये कञ्चनपुरका दुई, दार्चुला, बैतडी र अछामका एकएक जना महिला रहेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए। उनका अनुसार महिलालाई यौन धन्दाका लागि र पुरुषलाई शरीरका विभिन्न अङ्ग बिक्रीका लागि पशुपतिनगर नाका हुँदै भारत लैजाने गरिएको छ ।
त्यस्तै, प्रहरीले महिलाहरुलाई भारत लैजाँदै गरेका दार्चुलाको महाकाली नगरपालिका-३ का १९ वर्षीय उपेन्द्र बडू, दार्चुलाकै मालिकार्जुन गाउँपालिका-४ की २० वर्षीया सीता धामी र कञ्चनपुरको वेदकोट नगरपालिका-२ की १९ वर्षीया सुशीला धामीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान भइरहेको इलामका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले बताए ।