वाशिङ्गटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति बरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ ।
पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इन्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको कुरा इञ्जा अध्यक्ष गुणराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाको राजधानी वाशिङ्गटनमा मुख्यालय रहेको इञ्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्तिको राशी जनही पाँच सय अमेरिकी डलर रहेको छ । इन्टरनेसनल मनिटरी फन्डको उच्च पदमा पुगेर सेवा गर्नु भएका अर्थ विद स्व. डा सुखदेव शाहको संस्मरणमा ईन्जासंग सहकार्य गर्दै उहॉकी धर्मपत्नी श्रीमती विजया शाहले स्थापना गर्नु भएको अनुसन्धानवृत्ति कोष अन्तर्गत यो अनुसन्धानवृत्ति प्रदान गरिएको कुरा इन्जाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।