दार्चुला – दार्चुलामा नियमित विद्युत् आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन् । गर्मी मौसम सुरु भएसंगै विद्युत् आपूर्तिमा समस्या हुँदा उपभोक्ता हैरानी भोग्ने बाध्य छन् । जिल्लामा अहिले लोडसेडिङ नभए पनि पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता समस्या झेल्न बाध्य भएका हुन ।
कहिले र कति बेला विद्युत् अवरुद्ध हुन्छ, पत्तो नहुँदा उपभोक्ता विद्युत् उपभोगको समस्याबाट ग्रस्त छन् । जिल्लामा विद्युतले हल्का हावाहुरी र वर्षा हुनासाथ विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको छ । जिल्लामा अस्तव्यस्त विद्युत्लाइन विस्तार र पुराना काठका पोलका कारण नियमित विद्युत् आपूर्तिमा चुनौती बनेको छ ।
नियमित विद्युत् आपूर्ति नहुँदा सरकारी कार्यालयमा सेवाग्राहीलाई झन समस्या हुने गरेको छ । पछिल्लो समय अधिकांश सरकारी कार्यालयमा अनलाइन प्रणाालीबाट कार्यसम्पादन गर्दा विद्युत् नहुँदा टाढाबाट आएका सेवाग्राहीलाई सास्ती हुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन । विद्युत् नियमित आपूर्ति नहुँदा सयौं सेवाग्राही काम नगरी घर फर्किन बाध्य हुनुपर्ने अवस्था छ ।
विद्युत् प्राधिकरणका प्रमुख मोहन देव जोशीका अनुसार पुरानो लाइन विस्तार र पुराना पोलका कारण नियमित विद्युत् आपूर्तिमा समस्या देखिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाको बरमुडे क्षेत्रबाट लाइन ल्याउनुपर्ने बाध्यताका कारण पनि नियमित रूपमा विद्युत् आपूर्ति हुनसकेको छैन । शैल्यशिखरको बरमुडे क्षेत्रमा पटक–पटक लाइन काटिने समस्या छ ।
दुरसञ्चार कार्यालयका प्रमुख कृष्ण गुरुङका अनुसार विद्युत् भएको क्षेत्रमा मात्र सहजरूपमा फोन र इन्टरनेट सेवा प्रवाह हुने बताउनुभयो । उहाँले विद्युत् सेवा बिना फोन र इन्टरनेट सञ्चालनमा ल्याए पनि समस्या रहेको जानकारी दिनुभयो । जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेटको सहज पहुँच छैन । विद्युत सेवा नियमित नबन्दा जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयहरु, वित्तिय संघसस्था, उद्योगी व्यापारीहरु प्रत्यक्षरुपमा सास्ती खेपीरहेका छन् भने विद्युत सेवामा भर पर्ने एफ.एम रेडियो, साना लघु तथा घरेलु उद्योग, कुखुरापालक, काष्ट उद्योग, प्रेस संचालकहरुले बढी समस्या भोग्दै आएका छन् ।
दार्चुला जिल्लामा केही हप्ता यता बिद्युत नियमित नहुदा जिल्लाबासिहरुको जनजिबन कस्टकर बन्दै गएको भन्दै जिल्लामा कृयाशिल विद्यार्थी संगठनका नेताहरुले नेपाल बिद्युत प्राधिकरण दार्चुलासंग आक्रोस समेत राख्न थालेका छन । यहाँ ३३ केभिए केन्द्रीय प्रसारण लाइन विद्युत् अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । बिनासूचना पटकपटक विद्युत् अवरोध हुँदा सेवाग्राही आक्रोशितसमेत भएका छन् । झ्याप्प आउने फेरि तत्कालै विद्युत् अवरोध भइदिने समस्याले विद्युतीय उपकरणमा समेत क्षति हुने गरेको सेवाग्राहीको भनाइ छ ।
दिनमा पटक–पटक विद्युत् अवरोध हुने भए पनि सेवाग्राही समस्याको विषयमा अनविज्ञ रहेका छन् । सेवा अवरोध हुनुमा प्राधिकरणको लापरवाही देख्छु, लोडसेडिङ हो भने तालिका दिनुप¥यो, होइन भने यसरी जनतालाई दुःख दिन मिल्छ ?”, एक जना स्थानीयले भन्नु भयो ।
“हामीले विद्युत् सित्तैमा बालेको त होइन नि, महसुल तिरेका छौँ, तर सेवा देख्दा अचम्म लाग्छ, विद्युत् अवरोध हुँदा व्यावसायमा नै समस्या छ, विद्युत्का कारण सेवाग्राही मारमा छन् खोइ यसतर्फ कार्यालयको ध्यान गएको ? महिनौँदेखि यस्तो समस्या छ अनि ।” विद्युत्मा दैनिकजसो समस्या आएपछि स्थानीयवासीले सामाजिक सञ्जालमार्फत विद्युत् प्राधिकरणको सेवाप्रति प्रश्न उठाएका छन् ।सदरमुकाममा समेत स्थानीयवासीले विद्युत् सेवाको राम्रो उपभोग गर्न पाएका छैनन् । ग्रामीण भेगमा विस्तार भएको विद्युत् सेवाको अवस्था झन् नाजुक रहेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले भने वर्षात्, हावाहुरी तथा ओभरलोडका कारण विद्युत्मा समस्या भएको जनाएको छ । स्थानीय हाइड्रोपावरबाट उत्पादन भएको विद्युत्लाई व्यवस्थापन गर्न समस्या भएका कारण विद्युत् अवरोध हुने गरेको कार्यालयको भनाइ छ ।
दार्चुलाका ६० प्रतिशत परिवार अझै पनि विद्युतको पहुँचबाट बाहिर छन् । २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार दार्चुलामा २९ हजार १८६ घरपरिवारको बसोबास छ । जसमध्ये ६० प्रतिशत अर्थात १७ हजार घरधुरीमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छैन ।
जिल्लाभरीका करिब १३ हजार परिवारको पहुँचमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेब जोशीले जानकारी दिनुभयो । ३० मेगावाट क्षमताको चमेलिया लगायत साना ठूला जलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म आधाभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् ।
राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेका केही घरधुरीमा लघु जलविद्युत र सौर्य उर्जा (सोलार) भएपनि अधिकांस घरधुरी अन्धकारमा बस्न बाध्य भएको अपिहिमाल गाउँपालिकाका स्थानीय जनक ठेकरेले बताउनुभयो । दार्चुलाका दुई नगरपालिका तथा पाँचवटा गाउँपालिकाका विभिन्न स्थानमा विद्युतीकरण गरिएको र चालू आर्थिक वर्षमा जिल्लाका नौवटै स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख जोशीले बताउनुभयो । दार्चुलाको नौगाड र अपि हिमाल गाउँपालिकामा अझै राष्ट्रिय प्रसारण लाइन पुगेको छैन् । सन् २०२२ सम्ममा नेपालको सबै भूभागमा विद्युत पु¥याउने लक्ष्य लिएको नेपाल सरकारले एक वर्षभित्र दार्चुलामा पनि विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको छ ।तर अहिलेकै गतिमा काम हुने हो भने दार्चुलाको सबै परिवारमा विद्युतको पहुँच पुर्याउन बर्षौ लाग्नसक्ने देखिएको विद्युतकै कर्मचारीको भनाई छ ।
विद्युतिकरण भएको ठाउँमा समेत नियमित विद्युत आपुर्ती नहुदा समस्या हुने गरेको महाकाली नगरपालिकाका स्थानीय नरेन्द्र बडालले बताउनुभयो । बेलाबेला विद्युत सेवा अवरुद्ध हुनेगरेको स्थानीयको गुनासो छ ।