काठमाडौं: डडेल्धुराका प्रेमसिंह ऐरले २०५८ मा आफ्ना दुई छोरा गुमाएका थिए। त्यो बेला जिल्लाको अमरगढी नगरपालिका-१ दगलखेत बस्दै आएका उनका २ छोरा एम्बुस(बम विस्फोट) मा परेर बितेका थिए। सशस्त्र द्वन्दकालमा घर नजिकै सेनाले बिछ्याएको एम्बुसमा परेर २ दाजुभाईहरुको ज्यान गएको थियो। एकैपटक दुई छोरा गुमाएको वियोगलाई कम गर्न ऐर परिवारमा पछि राकेशको जन्म भयो।
२०६३ मा जन्मिएका राकेशकै अनुहार हेरेर त्यो परिवार आफ्ना दिन काट्दै थियो। राकेशसँगै २ दिदिबहिनी नै आफ्नो बुढेसकालको सहरा बन्ने सपना प्रेमसिंहले बुनेका थिए। तर, उनको परिवारमा खै कसको नजर लागेछ, राकेश पनि १७ वर्षको कलिलो उमेरमा परधाम गए। गाउँमा घटेको कहिलै नबिर्सन सकिने घटनापछि ऐर परिवार सदरमुकामकै वडा नम्बर ४ खलंगामा घर बनाएर बस्दै आएको थियो। बाँकी रहेका एक्ला छोरा दुर्घटनामा बितेपछि अहिले उनको त्यो घर सुनसान बनेको छ।
हिजो(शनिबार) डोटीको दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१ प८८३० नम्बरको मोटरसाईकल पछाडि सवार राकेशको टाउकोमा सडक माथिबाट खसेको ढुंगा लागेका थियो।
डडेल्धुराको रडुवास्थित पहिरोबाट उछिटिएर आएको ढुंगा लागेर टाउकोमा चोट लागेर सिकिस्त घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा रेफर गरेको थियो। उपचारको लागि धनगढी लैजाँदै गर्दा आज(आइतबार) बिहान उनको बाटोमै मृत्यु भएको हो। आजै मृतकको अन्तेष्टी भइसकेको छ। उनको मृत्युपछि परिवारसँगै आफन्त, गाउँले तथा साथीभाइ शोकमा डुबेका छन्। राकेश सदरमुकास्थित महेन्द्र माविको कक्षा १० मा अध्ययनरत थिए।
केआईसिंह राजमार्ग अन्तर्गत गन्यापधुरा गाउँपालिका–२ रडुवामा २ वर्ष पहिले पहिलोपटक पहिरो गएर सडक अवरुद्ध भएको थियो। त्यसयता बारम्बार वर्षासँगै उक्त सडकमा पहिरो जाँदै गरेको छ। सडक डिभिजन कार्यालय डोटीले सो स्थानमा सडक मर्मत गर्न ठेक्कामार्फत काम सुरु गरेको थियो। तर, हालसम्म पनि काम सम्पन्न भएको छैन।