कैलाली: सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दीपायलले डेङ्गु रोगबाट मृत्यु भएकाहरूको तथ्याङ्क समेट्नमा लापरबाही गरेको देखिएको छ।
पछिल्लो महिनामा प्रदेशमा डेङ्गुबाट पीडित ३ जनाको मृत्यु भइसकेको पुष्टि हुँदासम्म निर्देशनालयले अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भएको जानकारी नआएको तथ्याङ्कमा उल्लेख गर्ने गरेको छ। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भने सम्बन्धित स्वास्थ्यका निकाय तथा अस्पतालले समयमै तथ्याङ्क उपलब्ध नगराउँदा डेङ्गुबाट मृत्यु हुनेको तथ्याङ्क समेट्न नसकिएको बताए।
सुदूरपश्चिम प्रदेशमा यो रोगबाट पीडित हुने बिरामीको सङ्ख्या पछिल्ला दिनमा ह्वात्तै बढेका छन्। निर्देशनालयको तथ्याङ्कमा पछिल्लो नौ दिन (सेप्टेम्बर) मा मात्रै डेङ्गुका ९७ नयाँ रोगी फेला परेका छन्। नयाँ बिरामीमध्ये कैलालीमा ८१ र कञ्चनपुरमा १६ बिरामी भेटिएका छन्।