धनगढी: हिजो (आइतबार) साढे ४ बजे दार्चुलाबाट डडेल्धुरातर्फ जानका लागि हिंडेका थिए खेमराज कपाडी। अन्दाजी २८ वर्षीय कपाडी दार्चुलाको शैल्यशिखर नगरपालिकाको कार्यालय र सोही पालिकाको वडा नम्बर २ को कार्यालय सचिवको (दोहोरो जिम्मेवारी) रुपमा कार्यरत थिए।
सो वडाका अध्यक्ष नरेन्द्रबहादुर पालका अनुसार करिब १ महिनाअघि मात्र वडामा आएका सचिव कपाडी एकदमै मिजासिला स्वभावका थिए। कार्यालयकै कामको सिलसिला उनी शैल्यशिखरको रौतेडाबाट हिजो डडेल्धुरातर्फ आउन लागेका थिए। तर, उनी गन्तव्यमा (डडेल्धुरा) नपुग्दै अस्ताएका छन्।
मोटरसाइकलमार्फत दार्चुला हुँदै बैतडी पुगेका कपाडी मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडी निमित्त प्रमुख इन्सपेक्टर योगेश खत्रीका अनुसार वडा सचिव आज (सोमबार) बिहान बैतडीको दोगडाकेदार गाउँपालिका–५ स्थित सल्सेनामा मृत फेला परेका हुन्।
सल्सेनाको सडकबाट करिब १ सय ५० मिटर तल भीरमा कपाडीको लास भेटिएको इन्सपेक्टर खत्रीले महेन्द्रनगरपोष्टलाई बताए। यस्तै कपाडीले प्रयोग गरेको से ४ प ३४७५ नम्बरको मोटरसाइकल भने त्यो भन्दा अलि तल २ सय मिटरको दुरीमा फेला परेको उनले बताए।
प्रहरी स्रोतका अनुसार कपाडी डडेल्धुरामा एक संस्थाले आयोजना गरिरहेको तालिम कार्यक्रमको लागि दार्चुलाबाट हिंडेका थिए। तर उनी बीचबाटो (बैतडी)मै अस्ताएका हुन्। दार्चुलाबाट हिंडेपछि राति नै सम्पर्कविहीन बनेका सचिव कपाडीको राति नै प्रहरीले खोजतलास सुरु गरेको थियो। खोजतलासकै क्रममा आज उनको लास फेला परेको बैतडी प्रहरीले जनाएको छ।
अहिलेसम्म सो घटना दुर्घटना थियो या अरु केही भन्नेबारे भने खुलिसकेको छैन। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीको कमाण्डमा एक टोलि खटिएको र घटनास्थलमा जाँचबुझ भैरहेको प्रहरीले जनाएको छ।