कञ्चनपुरः कञ्चनपुरमा एशोसिएशन फर आइडिया (Idea) नेपालको सुदूरपश्चिम प्रादेशिक कार्यलय स्थापना भएको छ। वेदकोट नगरपालिका-७ लालपुरमा एक कार्यक्रमबीच आइडिया नेपालको प्रादेशिक कार्यलयको उद्घाटन गरिएको हो।
कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकारका लागि काम गर्ने उद्देश्यले आइडिया नेपालको सुदूरपश्चिम प्रादेशिक कार्यलयको शुभारम्भ गरिएको हो। आइडिया नेपाल सुदूरपश्चिम प्रदेशले एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सँगको सहकार्यमा कुष्ठ प्रभावित व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न काम गर्नेछ।
उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्र देव भट्टले ब्यानर पढेर आईडीया नेपालको प्रादेशिक कार्यलयको स्थापना गरे। कार्यक्रममा बोल्दै उनले कुष्ठ प्रभावित व्यक्तिहरूले अझै पनि समाजमा लुकेर बस्नु पर्ने अवस्था रहेको बताए। कुष्ठ प्रभावित व्यक्ति समाजमा खुलेर आए मात्र यो रोग निवारण गर्न सम्भव हुने बताउँदै उनले यसका लागि आइडिया नेपालले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
आइडिया नेपालका केन्द्रीय उपाध्यक्ष अमरबहादुर बोगटीले प्रादेशिक कार्यलयको स्थापना भएसँगै कुष्ठरोग निवारण र प्रभावितहरूको हक अधिकार सुनिश्चित गर्नतर्फ दातृ संस्था र सरकारी निकायको चाँसो बढ्ने तर्क गरे। उनले कुष्ठ प्रभावितहरूको हक अधिकारको क्षेत्रमा थप कार्य गर्ने प्रेरणा प्राप्त भएको जिकिर गरे। उनले प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुर, वेदकोट नगरपालिकालगायत सबैको साथ र सहयोगको अपेक्षा पनि गरे।