धनगढी: बैतडीमा आज (मंगलबार) दुर्घटना भएको छ। जिल्लाको पाटन–मेलौली सडकखण्ड अन्तर्गत पाटन नगरपालिका-६ अड्तोलामा एक जीप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा २ जना यात्रु घाइते भएका छन्। डडेल्धुराबाट मेलौलीतर्फ जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जीप मंगलबार राति करिब १० बजेतिर अड्तोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा परेर शिवनाथ गाउँपालिका १ का प्रकाश चाँड र उनकी ५ वर्षीया छोरी अनुस्का चाँड घाइते भएकी छन्।
अहिले घाइते दुबै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। जीप नालामा खसेर दुर्घटना भएको र जीपमा जम्मा ११ जना सवार रहेको प्रहरीले जनाएको छ।
यस्तै जीप चालक शिवनाथ गाउँपालिका २ का पदमराज कलौनीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।