काठमाडौं: भारतमा एक नेपाली युवतीको हत्या गरिएको छ। गत शनिबार भारतको उत्तराखण्डस्थित देहरादुनमा नेपाली युवतीको हत्या गरिएको हो।
हत्या भएको २४ घण्टामै त्यहाँको भारतीय प्रहरीले सो केस सल्भ गरेको जानकारी दिएको छ। प्रहरीका अनुसार भारतीय सेनाका एक अधिकारी नेपाली महिलाको हत्या आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल ४२ वर्षीय रमेन्दु उपाध्याय रहेका छन्।
उत्तराखण्डको देहरादुनमा पोस्टिङ रहेका उपाध्याय र नेपाली महिला श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका-६ चोकचिसापानी घर भएकी सुमित्रा घर्ती (खास नाम) बीच पश्चिम बंगालको सिलिगुरीमा एक डान्सबारमा भेट भएको थियो। ३० वर्षीया शर्मा सिलिगुरीमा नै बस्दै आएकी थिइन्। उनी त्यहाँ डान्सबारमा नाच्ने डान्सर थिइन्। त्यसबेलादेखि कर्नेल डान्सबारमा आउजाउ गर्ने भएकाले प्रेमजालमा परेका थिए।
देहरादुन प्रहरीका अनुसार दुईबीच त्यहीँ बारबाट प्रेम सम्बन्ध सुरु भएको थियो। त्यसपछि उपाध्यायको देहरादुन सरुवा भएपछि उनले शर्मालाई आफूसँगै देहरादुन लिएर आएका थिए।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/09/bar_dancer-sixteen_nine.jpg)
तर, त्यहाँ शर्मा मृत फेला परेकी थिइन्।उनको शव सोमबार सिर्वालगढ क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेको थियो। पहिले नै विवाहित र डेढ वर्षको छोरोसहित श्रीमती भएका उपाध्यायलाई विवाह गर्न दबाब दिएर यौनसम्बन्ध राख्न भनेपछि शर्माको हत्या भएको प्रहरीको भनाई छ। उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरिएको थियो। उनी पनि नेपाली मुलका भारतीय हुन्।
डान्सबारमा भेटपछि सुरु भएको तेर दुई जनाको अफेयर करिब २ वर्ष चलेको थियो। पहिले सिलिगुरीमा रहेका उपाध्यायको पोस्टिङ देहरादुन भएपछि उनलाई सँगै त्यहाँ लगेर कोठा लिएर राखेका थिए। पहिले शर्मालाई होटेलमा बसाएका कर्नेलले पछि महँगो खर्च आउन थालेपछि एक कोठा भाडामा लिएर राखेका थिए।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/09/dehradun-sixteen_nine-1024x576.jpg)
त्यसपछि गत शनिबार उनीहरू एक स्थानीय क्लब (डान्सबार) मा रक्सी पिएर दुवै जना लामो ड्राइभमा हिँडेका थिए। प्रहरीका अनुसार सहरभन्दा टाढा एकान्त ठाउँमा पुगेपछि राति करिब १ः३० बजे मृतक युवतीले यौनसम्बन्ध राख्न र विवाह गर्न दबाब दिएकी थिइन्।
त्यहीँ विषयमा विवाद हुँदा उनले गाडी रोकेर कर्नेलले जंगलमा हथौडाले शर्माको मुख र टाउको हिर्काएका थिए। शर्माको मृत्यु भएपछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए।
प्रहरीसँगको बयानमा उनले शर्मासँग आफ्नो विवाहइत्तर सम्बन्ध रहेको र उनले विवाह गर्न दबाब दिएकै आधारमा हत्या गरेको स्वीकार गरेका छन्। यता, तनहुँका एसपी अवदेश विष्टले पनि ती युवती तनहुँको भएको र अहिले युवतीका काका र दिदी देहरादुन गएको जानकारी दिए। अहिले कर्नेल भने कारागारमा छन्।
![](https://mahendranagarpost.com/wp-content/uploads/2023/09/arr_OtEYf6F8xB-1024x630.webp)