काठमाडौं: भारतीय टिम जारी एसिया कप क्रिकेटमा पहिलो पटक पराजित भएको छ। सुपर-४ अन्तर्गत अन्तिम खेलमा फाइनलमा पुगिसकेको भारत प्रतियोगिताबाट बाहिरिसकेको बंगलादेशसँग ६ रनले पराजित भएको हो।
बंगलादेशले २०१२ पछि भारतविरुद्ध जित निकाल्न सफल भयो।
जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो। उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए।
त्यस्तै, तान्जिम हसन सकिब र मेहेदी हसनले समान २/२ विकेट लिए । त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्लादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो। बङ्लादेशका कप्तान सकिब अल हसनले सर्वाधिक ८० रन बनाए। तौहिद हृदोयले ५४ रनको अर्धशतकीय पारी खेले।
भारतका शार्दुल ठाकुरले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । एसिया कपमा भारत र श्रीलङ्का उपाधिका लागि खेल्ने यसअघि नै तय भइसकेको छ। फाइनल खेल भोलि हुनेछ । पाकिस्तान र बङ्लादेश सुपर फोरबाट तथा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए।