काठमाडौं: ४० लाखभन्दा बढी फलोअर्स भएको लोकप्रिय फेसबुक पेज रुटिन अफ नेपाल बन्द फेरि सक्रिय भएको छ।
आफूबाट विगतमा केही गल्तिहरु भएको स्वीकार गर्दै अब गल्ती नगर्ने र पुष्टि नभएका ब्रेकिङ समाचार पोष्ट नगर्ने वाचा गरेर पेज सक्रिय भएको हो।
‘कुनै पनि गल्ती वा त्रुटीहरु हामीले जानाजान गरेनौँ। यद्यपि, ति गल्तिहरु सिकाइको अनुभवकारु पमा ग्रहण गर्दै गल्ती नदोहोर्याउने प्रतिबद्धतासहीत क्षमा माग्दछौँ’ पेजमा लेखिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको गैरजिम्मेवारपूर्ण स्टाटसपछि उनको बचाउमा उत्रेको ‘रुटिन अफ नेपाल बन्द’ पाठकको चर्को दबाब थेग्न नसकेर बन्द भएको थियो।
सञ्चालक भिक्टर पौडेलले भदौ १८ गते फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए। त्यसलगत्तै रुटिन अफ नेपाल बन्दको फेसबुक र इन्स्टाग्रामको पेज बन्द गरिएको थियो।
यस्तो छ पोष्ट
RONB अब हाम्रो रूटिन बनिसकेछ*
ख्यालख्यालैमा सुरु भएको रुटिन अफ नेपाल बन्द (RONB) तपाईहरुको विश्वास र हौसलाले उदाहरणीय अभियान बन्यो । यो यात्रा उत्साहप्रद र गौरवपुर्ण थियो, छ र भइरहनेछ । यसबिचमा हामीले सँधै सकारात्मक सोच र जानकारीलाई प्राथमिकतामा राख्यौँ । धेरै उतार-चढाब आए तर थाहै नपाइ RONB हामी सबैको साझा समाज दैनिकी र रूटिन बनिसकेछ।
भनिन्छ, एकअर्काको माया र सम्मान बिना बनेको समाज जुनसुकै बेला पनि भाँडिन सक्छ । हामीले सँधै एकअर्काप्रति सम्मानभाव जाग्ने, हौसला र उर्जा थप्ने नविनतम प्रयासका खबर र कामहरूलाई मद्दत गर्यौ। सामाजिक कामहरुलाई अगाडी बढाउने समाजलाई जोडिराख्न् र सदभाव कायम राखीरहने काममा हाम्रो ल्याकतले भ्याएसम्म सधै कोशिस गरिरह्यौँ ।
उत्साह, सकरात्मक सोचसंगै हामी शिकारु पनि थियौँ । नयाँ प्रबिधि, सकारात्मक खबरमात्रै दिने नयाँ प्रयास र नयाँ पुस्ताको मनपर्ने शब्दहरुको संयोजन जति रोमाञ्चक थियो, त्यति नै जोखिमपुर्ण पनि । हामीले जति ध्यान दिए पनि नचाहाँदा नचाहादै पनि केहि गल्ति, त्रुटिहरु भएका छन् र हामीले थाहा नपाएका अझै धेरै पनि हुन सक्लान् । त्यसो हुनुमा कहिले असम्बन्धित सन्दर्भ र खराब समय पर्यो होला, कहिले अनुपयुक्त शब्द पर्यो होला तर हाम्रो नियत कहिल्यै खराब थिएन । कुनै पनि गल्ति वा त्रुटीहरु हामीले जानाजान गरेनौँ । यद्यपि, ति गल्तिहरु सिकाइको अनुभवकारुपमा ग्रहण गर्दै गल्ति नदोहोर्याउने प्रतिबद्धतासहीत क्षमा माग्दछौँ । र, नयाँ किसिमले समाजमा थप सकारात्मकता थप्न, केहि गर्छु भन्नेहरुको मनोबल बलियो बनाउन सहयोग गर्न गैरराजनीतिक सामाजिक जानकारी, खबर लिएर आउनेछौँ । विश्वास छ, सबैको मन जित्नेछौँ । आशा छ हामी तपाइको प्रिय रूटिन बनिरहने छौ।
अबका हाम्रो उद्देष्यहरु न्यूनतमरुपमा यी हुनेछन् :
१. गैरनाफामुलक अथवा पब्लिक कम्पनीमा जाने सम्भावना खोजी गर्नेछौँ ।
२. हामीले पोस्ट गर्ने सामग्रीहरु ब्रेकिङ भन्दा पनि सत्य र प्रमाणीत बनाउनेछौँ । प्रमाणीकरण गर्न एकदमै संवेदनशील हुनेछौँ ।
३. पोस्ट गर्ने समय वा परिस्थितिले हाम्रो सामग्रीहरुको अर्कै अर्थ लाग्छ कि भनि सचेत हुनेछौँ ।
४. हाम्रो उद्देष्य कसैलाई बहकाउने (Manipulate) गर्ने थिएन तर हाम्रा पोस्टहरुले त्यस्तो नगरोस् भनेर थप सचेत हुनेछौँ ।
५. सामाजिक कार्य रगतखोजी तथा हराएका वा भेटिएका व्यक्ति र सामग्रीहरु जस्ता हेल्प पोस्टहरुलाई पहिलो प्राथमिकता दिनेछौँ । यसका लागि हाम्रो एपलाई माध्यमकारुपमा भरपुर प्रयोग गर्नेछौँ ।
६. आमनागरिकहरुको चासोलाई सम्बोधन हुने गरेर Feedback Forum बनाउने छौँ ।
७. हप्तामा कम्तिमा एउटा नेपालमा बनेको वा कुनै विशेष स्टार्ट अपको बारेमा निशुल्क प्रमोसन वा शुल्क लिएमा त्यसलाई सामाजिक काममा प्रयोग गर्नेछौँ ।
८. दिनमा एउटा सामाजिक सचेतनाका बिषयलाई पोस्ट गर्नेछौँ ।
९. RONB देशको निती नियम र संस्कारलाई सम्मान गर्दै नेपाली समाजलाई सहि बाटोमा लैजान सहयोगी बन्न प्रयत्नरत रहने छ।
र, RONB कुनै व्यक्ति वा समूहको ब्रान्डकारुपमा मात्र नरहेर सम्पूर्ण आमसर्वसाधारण नेपालीको पहुँच र सम्पर्कको ब्रान्डकारुपमा स्थापित गर्ने दिशातिर लाग्नेछौँ ।
“हाम्रो नेपाल-राम्रो नेपाल-हाम्रो रूटिन